पूर्व माओवादीले स्कूल विभाग नछाड्ने

Nekapa Team
लाेकपाटी न्यूज

काठमाडौँ, ५ साउन। पार्टीको स्कुल विभागमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुबै समूहले अडान लिएपछि विवाद पेचिलो बन्ने देखिएको छ। विभागको नेतृत्वमा इश्वर पोखरेल र नारायणकाजी श्रेष्ठको अडान रहेको छ।

सचिवालय बैठक अघि नेकपाका दुबै समूह आन्तरिक छलफलमा जुटेका थिए। पूर्व एमाले बालुवाटरमा छलफल गरेको थियो भने पूर्व माओवादीले प्रचण्ड निवास खुमलटारमा आज बिहान आन्तरिक रुपमा छलफल गरेको छ।

एमाले खेमाले स्कुल विभागको प्रमुख पोखरेललाई बनाउने अडान लिएको छ भने माओवादी पक्षले श्रेष्ठलाई स्कुल विभागको प्रमुख बनाउने प्रस्ताव एकीकृतरुपमा राख्ने निर्णय गरेका थिए। दुबै समूहको अडानका कारण आजको सचिवालय बैठकबाट एकताले पूर्णता नपाउने संकेत देखिएको छ।

यसअघि सबैभन्दा बढी महत्वपूर्ण मानिएको संगठन विभागको प्रमुखमा वामदेव गौतम र विदेश विभागको प्रमुखमा माधव नेपाललाई राख्ने सहमति भइसकेको छ। अब स्कुल विभागको नेतृत्व नाराणकाजी श्रेष्ठले पाउँनु पर्ने अडानमा माओवादी खेमाका नेताहरु छन्।

पार्टीका एक उच्च तहका नेताका अनुसार राजनीतिक प्रतिवेदन निर्माणमा महत्वपूर्ण भूमिका खेलेका श्रेष्ठलाई स्कुल विभागको प्रमुख बनाउन एमाले खेमाले आनाकानी गरिरहेको छन्। एकिकृत पार्टीको राजनीतिक कार्यदिशामा पोखरेलले एमालेका कार्यक्रम हुनुपर्ने बिषयमा सार्वजनीक रुपमा वकालत गर्दै आएकाले त्यसले पार्टी एकतामा असर पुर्‍याउने भन्दै माओवादी खेमाका नेताहरुले असहमती जनाउँदै आएका छन् ।

तर यता प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा पूर्वएमाले नेताहरुले पोखरेलाई स्कुल विभागको प्रमुख जसरी पनि बनाउनु पर्ने जोड दिएका छन्। विभागहरुको प्रमुख छनौटका क्रममा नेकपालाई चुनौती देखिने भएको हो। खासगरी नेता पोखरेल र श्रेष्ठमध्ये कसलाई स्कुल विभागको प्रमुख बनाउने भन्ने विषय पेचिलो बनेपछि आज एकताले पूर्णता नपाउने संकेत देखिएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्