कञ्चनपुर, ५ साउन। कञ्चनपुरमा एक जना जनप्रतिनिधिले आफूले पाएको वर्षभरीको तलब वडाका वृद्धवृद्धालाई वितरण गरेका छन्। भीमदत्त नगरपालिका १ का वडा अध्यक्ष आशेफ कुँवरले आफूले पाएको २ लाख ६२ हजार रुपैयाँ वडाका वृद्धवृद्धालाई वितरण गरेका हुन्।
कुँवरले गएको वर्षसमेत आफ्नो तलब वृद्धावृद्धा तथा असहायलाई वितरण गरेका थिए। नयाँ आर्थिक वर्ष लागेसँगै उनी यतिबेला आफूले राज्यबाट प्राप्त गरेको तलब गाउँका वृद्धावृद्धा बाड्न व्यस्त छन्। राजनीतिलाई सेवा मान्ने वडा अध्यक्ष कुँवरले चुनावी बाचा अनुरुप आफूले राज्यबाट पाउने तलब नागरिकलाई नै वितरण गरेको बताए।
‘मैले चुनावमा उठ्ने बेला तपाइँले जिताउनु भयो भने गाउँको विकाससँगै राज्यले दिने तलब वृद्धावृद्धालाई दिन्छु भनेको थिएँ’, उनले भने ‘उहाँहरुले मलाई विश्वास गरेर जिताउनुभयो। मैले नागरिकसँग गरिएका बाचा पूरा गरेको हुँ।’
नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष कुँवरले आइतबार वडाका अपाङ्गता भएका व्यक्तिहरुलाई प्रतिव्यक्ति एक हजार र ज्येष्ठ नागरिकलाई प्रति व्यक्ति एक हजार ५ सयका दरले रकम वितरण गरेका हुन्। उनले कतिपय व्यक्ति आउन नसकेको बताउँदै रकम लिन छुटेकालाई घरमै गएर दिइने बताए।



लाेकपाटी न्यूज

