काठमाडौं, ५ साउन । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका नेता माइला लामा काभ्रेबाट काठमाडौं छिर्नेबित्तिकै पक्राउ परेको खुलेको छ। विप्लव समूहका कार्यकर्ता रेशम लामाको बुबाको निधन भएपछि परिवारलाई भेट्न लामा त्यहाँ पुगेका थिए।
तर, फर्किएर काँडाघारीमा बसेकै मध्यराति उनी पक्राउ परेका हुन्। महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका अनुसन्धान अधिकृतका अनुसार लामा चिनेकै व्यक्तिको घरको माथिल्लो तलामा च्यानल गेट बन्द गरेर बसेका थिए।
शनिबार साँझ उनी सार्वजनिक यातायात चढेर काठमाडौं छिरेको प्रहरी स्रोतले बताएको छ। मध्यराति पक्राउ गरेर उनलाई टेकुमा राखीएको छ। उनको साथबाट ४ वटा मोबाइल पनि बरामद भएको छ, जसको अनुसन्धानमा अहिले प्रहरी अधिकृत जुटेका छन्। बयानका क्रममा उनले पार्टीको कामको सिलसिलामा आफू उपत्यकाको विभिन्न क्षेत्रमा बस्ने गरेको बताएका छन्।
प्रहरीले उनलाई एक जनाको मृत्यु र दुई जना घाइते हुने गरी भएको नख्खु बम विष्फोटमा जोडेर कर्तव्य ज्यान मुद्दामा म्याद थप गर्ने तयारी गरेको छ। लामामाथि राज्यविरुद्धको कसूर अपराधअन्तर्गत पनि कारबाही हुने जनाइएको छ।



लाेकपाटी न्यूज

