विप्लवलाई राष्ट्रपति बन्न बाटो खुला छ : मन्त्री बाँस्कोटा

Gokul Baskota
लाेकपाटी न्यूज

काभ्रेपलाञ्चोक। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बुद्धको देशमा हिंसा कदापि स्वीकार्य नहुने बताएका छन्। काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घको ४० औँ साधारण सभालाई शनिबार बनेपामा सम्बोधन गर्दै उनले भने, “बुद्धको देशमा हिंसा अस्वीकार्य छ।” जसले हिंसा गर्छ, अन्तिममा त्यही शिकार बन्ने उनले दावी थियो।

मन्त्री बाँस्कोटाले विभिन्न स्थानमा लुकेर जनतालाई आतङ्कित पार्ने ‘जङ्गली राज’ वर्तमान अवस्थामा नचल्ने बताए। उनले भने, “यो प्रजातन्त्र हो, प्रजातन्त्रमा विचार चल्छ, बहस हुन्छ।” खुला राजनीतिमा आएर राष्ट्रपतिसम्म बन्न सकिने अवस्थामा कसैले कसैलाई नरोकेको उनको भनाइ थियो।

मन्त्री बाँस्कोटाले जनताका सामुन्ने हिंसा भड्काएर आतङ्क मच्चाउने, स्कूल र उद्योगीलाई दुःख दिने, स्थानीय निकायमा चन्दा आतङ्क मच्चाउनेजस्ता गतिविधि गलत भएको बताए। “अब यस्ता गतिविधि चल्नेवाला छैन, यो देशका निम्ति घातक सावित हुनेछ”, उनले भने।

कसैले हिंसा भड्काउँदा सरकार झुक्ला भन्ने ठान्नु गलत हुने उल्लेख गर्दै सरकार कुनै पनि हालतमा कमजोर नहुने मन्त्री बाँस्कोटाले दावी गरे। “मुलुकलाई पुनः अस्थिरतातर्फ धकेल्ने नौटङ्की कसैले पनि नगर्दा हुन्छ”, उनले भने। “तपाईंहरु (उद्योगी) सडकमा आउनु पर्दैन, छलफलबाटै समस्या समाधान हुन्छ”, मन्त्री बाँस्कोटाले भने। देशमा आन्दोलन, झडप भइदिए आफ्नो स्वार्थसिद्ध गर्न खोज्ने एकथरि भए पनि तिनको चाहना पूरा नहुने उनले बताए।

फरक प्रसङ्गमा मन्त्री बाँस्कोटाले देश निर्माणका लागि विदेशीको सहयोग पूँजी प्रविधिमा लगानी गर्न लिइने बताए। उनले भने, “विदेशीको सहयोग पनि लिन्छौँ। तर, हाम्रो हितमा लिन्छौँ, उनीहरुको हितका लागि होइन।” उनले उद्योगको क्षेत्रमा केही कमीकमजोरी भए छलफल गरेर अगाडि बढ्ने बताए।