‘विप्लवसँग एकता गर्छौं, हतियार उठाउँछौं’ : मोहन वैद्य

Mohan Baidya
लाेकपाटी न्यूज

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग एकता गर्ने र हतियार उठाउने घोषणा गरेका छन्। एक टेलिभिजन अन्तर्वार्तामा महासचिव वैद्यले यस्तो घोषणा गरेका हुन्।

उनले एकताका लागि विप्लवसँग कुराकानी भइरहेको बनाए। ‘पहिला हामी गठबन्धन गर्छौं। त्यसपछि राजनीतिक मुद्दामा सहकार्य गर्छौं। अन्ततः हामी एकता गर्छौं’ उनले भने। वैद्यले विप्लवसँगको एकतासँगै अहिले कायम रहेको संसदीय व्यवस्थालाई ध्वस्त पार्ने पनि चेतावनी दिए।

उनले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ असली कम्युनिष्ट नै नभएको पनि आरोप लगाए। उनले भने, ‘उनीहरु असली कम्युनिष्ट नै होइनन्। कम्युनिष्टको नाममा बरु बदनाम बनाउने काम गरेका छन्। उनीहरुले देशलाई सही दिशामा अघि बढाउन सक्दैनन्।’

मुलूकमा अझै जनवादी क्रान्तिको आवश्यकत्ता औंल्याउँदै त्यसका लागि आफूहरु तयारीमा जुटिसकेको पनि उनको भनाइ छ। उनले भने, ‘हामीले त यो कुरा पहिल्यैदेखि भन्दै आएका छौं। जनवादी क्रान्ति आजको अनिवार्य आवश्यकता । समयले हामीलाई यो अभिभारा पूरा गर्न जिम्मा दिएको छ। हामी त्यो कुरा पूरा गरेरै छोड्छौं।’