काठमाडौं, ५ साउन । पर्दै-रोकिँदै गरेको मनसुनी वर्षाले फेरि सक्रिय हुने छाँट देखाएको मौसमविद्हरू बताउँछन्। असार २६, २७ र २८ गते अविरल परेको वर्षाका कारण मध्य र पूर्वका नदीमा बाढी आउँदा तराई क्षेत्र डुबानमा परेको थियो।
त्यसपछि मत्थर हुँदै गएको वर्षा शनिबारदेखि फेरि सक्रिय हुने बाटोमा अग्रसर रहेको मौसमविद् मञ्जु बासीले बताए। विशेषगरी काठमाडौँ क्षेत्रमा अबको केही दिन भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
केही दिनयता राति र दिनमै पनि केही समय चर्को वर्षा राजधानीमा हुने गरेको छ।निकै आकाश खुले पनि छिनमै बादल लागेर भारी वर्षा भइरहँदा राजधानीका ठूला तथा साना नदीमा बाढी आउन सक्ने उनी बताउँछन्।
मनसुनको न्यूनचापीय रेखा नेपालको दक्षिणमा रहे पनि बङ्गालको खाडीबाट नेपाल प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायुको असरले मध्य र पूर्वमा मनसुन फेरि सक्रिय हुन थालेको उनको भनाइ थियो। अबको तीन दिन देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने भविष्यवाणी महाशाखाले गरेको छ। यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।



लाेकपाटी न्यूज
