काठमाडौं, ५ साउन। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज आइतबार बस्दैछ। दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले १४ महिनायता थाँती रहेको पार्टी एकताका सम्पूर्ण प्रक्रियाको टुंगो लगाउने नेताहरुले बताएका छन्।
तत्कालिन एमाले र माओवादी मिलेर गत २०७५ जेठ ३ गते पार्टी एकता भएको थियो।त्यसयता अझै पार्टीका केन्द्रीय तहकै नेताहरुले कामको जिम्मेवारी पाउन सकेका थिएनन्।केन्द्रीय तहमा बन्नुपर्ने विभाग, आयोग र परिषद बनेका थिएनन्।
जिल्ला तहका इन्चार्ज, सह–इन्चार्ज बनाउन नेकपाले सकेको थिएन। महासचिव विष्णु पौडेलका अनुसार, आइतबारको सचिवालय बैठकले भने यी सबै कामको एकमुष्ट रुपमा निर्णय लिएर पार्टी एकताको काम सक्ने सचिवालयको तयारी छ।
जिल्ला इन्चार्ज, केन्द्रीय विभाग, आयोग र परिषद्का सन्र्दभमा दुई अध्यक्ष केपी ओली र प्रचण्डले भागबन्डामा समझदारी जुटाएपछि दुबै पक्षले आफूले पाएको जिम्मेवारीमा कुन नेतालाई अगाडी बढाउने भन्नेमा आपसी छलफल समेत गरेका थिए।
पूर्व एमाले तर्फका नेताहरुले बिहीवार, शुक्रवार र शनिवार तीन दिन लगातार बालुवाटारमा जिम्मेवारीका सन्र्दभमा छलफल गरेको बालुवाटार स्रोतले बतायो। यता अर्का अध्यक्ष प्रचण्डले पनि यो विषयमा पार्टीका विभिन्न नेताहरुलाई बोलाई अलग अलग रुपमा छलफल गरेर राय सुझाव लिने काम गरेका थिए।
महत्वपूर्ण मानिने विभागहरुमा भने नेताहरुका बीचमा केही समझदारीसमेत भईसकेको छ। संगठन विभागमा सचिवालय सदस्य बामदेव गौतम, विदेश विभागमा पूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता माधव नेपाल, नीति अध्ययन प्रतिष्ठानमा पूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनालले जिम्मा पाउँदैछन्। आर्थिक र प्रचार विभागको जिम्मेवारी तत्कालिन माओवादी तर्फका नेताहरुले पाउँदैछन्।
तर स्कुलिङ विभागका सन्र्दभमा भने अझै दुबै पक्षका नेताहरुका बीचमा नेतृत्व लिने रस्साकस्सी चलिनै रहेको छ। बुधबार बिहान सचिवालय बैठकको तयारीका लागि दुई अध्यक्षको बालुवाटारमा भएको छलफलमा पनि स्कुलिङ विभागको रस्साकस्सी कायमै थियो।
तत्कालिन एमालेमा ओली पक्षले यो विभागमा उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका नेता ईश्वर पोखरेललाई अगाडी सारिएको छ भने माओवादीका तर्फबाट पार्टी प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठलाई अगाडी सारिएको छ।
पार्टी एकतापछि नेकपाको राजनीतिक कार्य्दिशामा लगातार असन्तुष्टि जनाउदै स्थगन गरिएको तत्कालिन एमालेको राजनीतिक कार्यक्रमकै वकालत गर्दै आएका पोख्रेललाई स्कुलिङ विभागको जिम्मा दिँदा त्यसले एकतामा आँच पुर्याउन सक्ने र सम्वेदनशील विभागको गतिविधि राजनीतिक पूर्वाग्रहीका आधारमा हुनसक्ने ठानी माओवादी खेमाबाट पोखरेलको नाममा असहमति कायमै छ।
पार्टी प्रवक्ताको अन्यत्र कुनै जिम्मेवारी नभएको, सचिवालयमा मात्र रहेका नेताहरु गौतमलाई महत्वपूर्ण र आफुले रोजेकै विभाग दिएपछि श्रेष्ठलाई पनि त्यसैगरी काम गर्न दिनुपर्ने माग माओवादी खेमाका नेताहरुको छ। तर ओली यसमा अझै सहमत हुन सकेका छैनन। दुई अध्यक्षका बीचमा अहिले बिहान हुने छलफलका आधारमा मात्र यो विभागको अन्तिम टुंगो लाग्ने नेताहरुको भनाई छ।
३२ केन्द्रीय विभागमा तत्कालिन एमालेलाई १८ र माओवादीलाई १४ विभागको नेतृत्व दिने गरी दुई अध्यक्षका बीचमा समझदारी भईसकेको छ। त्यस्तै जिल्ला इन्चार्जका सन्र्दभमा ६०–४० प्रतिशतका आधारमा नेतृत्व दिने, तीन आयोगमध्ये लेखा परिक्षण आयोगमा एमाले तर्फका डा. पुष्प कँडेल, अनुशासन आयोगमा एमाले तर्फका अमृत बोहोरा र निर्वाचन आयोगमा माओवादी तर्फका अमिक शेरचनले जिम्मेवारी लिने समझदारी छ।
त्यसैगरी, केन्द्रीय सल्लाहकार परिषदमा केशव बढाल र जेष्ठ कम्युनिष्ट मञ्चमा नन्दकुमार प्रसाईलाई जिम्मा दिने तयारी नेकपाको छ।



लाेकपाटी न्यूज

