एजेन्सी । भारतीय कांग्रेसकी नेता प्रियंका गान्धी वाड्रा रातभरी मिर्जापुर जिल्लाको चुनार गेस्ट हाउसमा धर्ना बसेकी छिन्। त्यस अघि शुक्रबार राती उनले शृङ्लावद्ध ट्वीट पनि गरेकी थिइन्।
ट्वीटमा उत्तर प्रदेश राज्यको कांग्रेस महासचिव रहेकी प्रियंकाले सोनभद्रामा भएको घटनाका लागि सरकारको विरोध गरेकी छिन्। अझ त्यस घटनामा आफूलाई सहभागी हुन नदिएकोमा उनको विरोध रह्यो।
ट्वीटमा उनले भनेकी छिन् ,‘यदी पीडितसँग भेटेकोमा सरकार मलाई जेल पठाउन चाहन्छ भने म तयार छु। ’
प्रियंका गान्धी उत्तर प्रदेशको सोनभद्रभन्ने स्थानमा भएको हत्याकाण्डको पीडितसँग भेटघाट गर्न चाहन्थिन्। तर, प्रहरी र प्रशासनले उनलाई मिर्जापुरको नारायणपुर गाउँमा नै रोकेको थियो। पछि प्रियंकालाई चुनार गेस्ट हाउसमा लगियो। त्यहीँ उनले रातभरी धर्ना दिएकी हुन्।
बुधाबार उत्तर प्रदेशको सोनभदा गाउँको मुखिया र उसका समर्थकले आदिवासीहरुको जमिनमाथि कब्जा गर्ने प्रयास गरेका थिए । त्यस क्रममा आदीवासीहरु आफ्नो जग्गा हडप्ने कार्यको विरोधमा उत्रिए। त्यसरी विरोधमा उत्रेका १० आदीवासीको हत्या भएको छ।
सम्पूर्ण विवाद घोरवाल जिल्लामा रहेको ९० बिघा जमिनमा केन्द्रीत छ। प्रियंका हत्याकाण्डका घाइतेलाई भेटेर सोनभद्र जादैं थिइन्। यही दौरान नाराणयपुरमा उनको गाडिलाई रोकियो। त्यसपछि प्रियंका बाटोमै धर्नामा बसेकी थिइन्। त्यसपछि उनलाई नजिकैको चुनार गेष्ट हाउसमा लगियो । त्यहाँ पनि उनले धर्ना जारी राखिन्।
प्रियंकाले ट्विटमा लेखेकी छिन् ,‘ उत्तर प्रदेश सरकारको कर्तव्य अपराधीलाई पक्राउ गर्ने हो। अपराधबाट पिडितको पक्षमा उभिनु मेरो कर्तव्य हो। भाजपा अपराध रोक्ने काममा त असफल भयो तर मलाई मेरो कर्तव्यबाट रोकिरहेको छ। मलाई पिडितको पक्षमा उभिन सकैले रोक्न सक्दैन। ’
प्रियंका राखिएको चुनार गेष्ट हाउसको बिजुली पनि काटिएको थियो। प्रदेशका कांग्रेस नेताहरुका अनुसार सरकारले बिजुली मात्रै होइन, गेष्ट हाउसको पानी पनि अवरुद्ध गरिएको थियो। प्रियंकालाई सोनभद्र जानबाट रोकेकोमा कांग्रेस नेता तथा प्रियंकाका दाई राहुल गान्धीले पनि विरोध गरेका छन्। राहुलले उक्त घटनाको विरोध गर्दै भने ,‘प्रियंकालाई रोक्नको लागि सत्ताको दुरुपयोग भयो। यसले भाजपा सरकारको असुरक्षाको भावना देखाउँछ।’



लाेकपाटी न्यूज

