काठमाडौं, ४ साउन। नेकपाका तीन शीर्ष नेताको जिम्मेवारी तोकिएको छ। जसअन्तर्गत नेकपाका नेता माधवकुमार नेपालले विदेश विभाग प्रमूखको जिम्मेवारी पाएका छन्। बिहीबार र शुक्रबार बिहान बसेको नेकपा बैठकले ३ नेताको जिम्मेवारी टुंग्याएको हो।
नेकपामा ३२ विभागमध्ये पूर्वएमालेको भागमा १८ विभाग परेको छ। बाँकी १४ विभाग पूर्वमाओवादीको कोटामा परेको छ। त्यस्तै अर्का नेता झलनाथ खनाललाई नीति अध्ययन तथा प्रतिष्ठानको जिम्मेवारी दिएको छ भने वामदेव गौतमलाई संगठन विभाग प्रमूख तोकिएको छ। नीति अध्ययन तथा प्रतिष्ठानले पार्टी र वामपन्थी सरकारले लिनुपर्ने राष्ट्रिय नीतिबारे पार्टीलाई आवश्यक दिशानिर्देश गर्नेछ।
अहिले पार्टीले जिम्मेवारी प्रदानका विषयमा गम्भीर भएर छलफल गरिरहेको र सबै काम टुंग्याएपछि साउन ५ गते बस्ने सचिवालय बैठकले निर्णय अनुमोदन गर्ने नेता झलनाथ खनालले बताए। नेकपाको केन्द्रीय सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चको नेतृत्व पनि टुंगो लागेको छ। परिषद् अध्यक्षको जिम्मेवारी पूर्वएमालेबाट केशव बडाल र मञ्चको नेतृत्व पूर्वमाओवादीबाट नन्दप्रसाद प्रसाईंले पाएका छन्। मञ्च र परिषदमा पूर्वएमालेको एक सय २१ र माओवादीको एक सय सदस्य रहनेछन्।
नेकपाका तीन आयोगमा पनि नेतृत्व टुंगो लागेको छ। लेखा परीक्षण आयोगमा डा. पुष्प कँडेल र अनुशासन आयोगमा अमृत बोहरालाई नेतृत्व दिने सहमति पूर्वएमालेका नेताबीच भएको छ। त्यस्तै, पूर्वमाओवादीको भागमा परेको निर्वाचन आयोगमा अमिक शेरचन छानिएका छन्। पूर्वमाओवादीले आर्थिक, प्रचार विभाग र वित्तीय व्यवस्थापन विभागमा एउटामा पनि नेतृत्व छान्न सकेको छैन।
पूर्वमाओवादी केन्द्रले नेकपामा १४ वटा विभाग भाग पाए पनि ती विभागमा को–को पठाउने भन्ने अहिलेसम्म टुंगो लगाउन सकेको छैन। पूर्वमाओवादीले पाएका १४ वटै विभागको जिम्मेवारी एकैपटक टुंगाउने तयारी गरेको छ। पूर्वमाओवादीको तर्फबाट प्रचार विभागमा नेता नारायणकाजी श्रेष्ठ बलिया दावेदार मानिन्छन्। उनी नेकपाका प्रवक्ता पनि हुन्। पार्टी प्रवक्ता भएकाले प्रचार विभागमा श्रेष्ठको सम्भावना सबैभन्दा बलियो मानिन्छ। पूर्वमाओवादीमा उनी अन्तर्राष्ट्रिय विभागका प्रमूख थिए।
पूर्वमाओवादीका अर्का सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ गृहमन्त्री छन्। पूर्वमाओवादीमा उनी संगठन विभाग प्रमूख थिए। संगठन विभागमा रुचि देखाएका थापा अरु विभागमा रहन्छन् वा रहन्नन् भन्ने टुंगो लागिसकेको छैन। संगठन विभागमा वामदेव गौतमको नाम टुंगो लागेको छ। नेकपामा पूर्वगृहमन्त्री जनार्दन शर्माले पनि शक्तिशाली विभागको नेतृत्वमा रुचि देखाएका छन्। पूर्वमाओवादीले पाएका १४ विभागमा अरु नेताहरुले पनि रुचि देखाएका छन्। यद्यपि, पूर्वमाओवादीले सबै नेताहरुलाई उचित जिम्मेवारी दिने गरी संगठनको नाम टुंगाउने तयारी गरिरहेको स्रोतले बतायो।



लाेकपाटी न्यूज

