सुजिता हमाल/काठमाडौं, ३ साउन। गत भदौ २४ गते गोरखाको चुमनुव्री गाउँपालिका ३ सिर्दिवासस्थित फिलिमबाट १० किलो सुन बरामद भयो। पैदलमार्ग हुँदै यति ठूलो परिमाणमा सुन बरामद गर्नु प्रहरीका लागि ठूलै सफलता बन्यो। सुन बोक्ने गोरखा छेकम्पारका ५८ वर्षीय मुटुप लामा भन्ने छिरिङ डुन्डुप लामा र २८ वर्षीय लोप्चन तामाङ अझै पुर्पक्षका लागि गोरखा कारागारमा छन्। उनीहरुसँगको सोधपुछमा प्रहरीले अवैध सुन तिब्बती बजारबाट भित्रने गरेको तथ्य पनि फेला पार्यो। छेकम्पारको सीमापारि तिब्बतको जोङ्ग बजारमा दैनिक उपभोग्य सामाग्री खरिदका लागि पुगेका छिरिङ र लोप्चनको स्थानीय व्यापारीसँग चिनजान भयो। आर्थिक प्रलोभनमा परेका उनीहरु सुन काठमाडौंसम्म पुर्याउन राजी भए।
तर, अवैध धन्दामा संलग्न उनीहरु प्रहरी फन्दामा परे नै। संगठनप्रति इमान्दार भई सफलतापूर्वक काम गरेको भन्दै सिर्दिवास प्रहरी चौकीका तत्कालीन प्रहरी नायव निरीक्षक तुल बहादुर सेन ठकुरीलाई जिल्ला प्रहरी कार्यालय गोरखाले नगद २१ सयसहित सम्मान गरेको छ। खुल्ला तिब्बत सीमानाका कारण अवैध तरिकाले सामान ओसारपसार हुन सक्ने आशंकामा गोरखाको सुरक्षा प्रमूखको बैठकमा पटक–पटक उठ्ने गरेको छ। प्रहरीले खुल्ला सीमा क्षेत्रमा छड्के चेकजाँच बढाएको दाबी गर्दै आएको छ। तर, त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै सुन तस्करीको जालो फेला पारेको छ। विभिन्न सीमा नाकामा मात्र होइन, पछिल्ला दिनहरूमा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि सुन तस्करी हुने क्रम बढेको छ। विमानस्थलबाट ०७२ माघ २१ गते १२ केजी सुन बरामद गरिएको थियो। गत वर्ष माघ महिनामा ३३ केजी सुन बरामद भयो।

देशका विभिन्न भन्सार नाकाबाट पनि अवैध सुन नेपाल भित्रिने क्रम रोकिएको छैन। अहिले सुन आयातमा सरकारले कडाइ गरेको छ। यसमा लाग्दै आएको भन्सारमा पनि वृद्धि गरिएको छ। वैदेशिक रोजगारीमा जानेहरूले विगतमा बिना भन्सार ५० ग्रामसम्म सुन ल्याउन पाउने गरेको भए पनि गत वर्षदेखि १० ग्रामभन्दा धेरै ल्याउन प्रतिबन्ध छ। तैपनि वैधानिक सुनको खपत नबढ्नुले अझै पनि अवैध सुनले बजार पाइरहेको प्रस्ट देखिन्छ। नेपाल प्रहरीको तथ्याङ्क केलाउँदा विगत साँढे ४ वर्षमा प्रहरीले भन्सार छलीबाट मात्र ४ सय ७७ किलो सुन बरामद गरेको छ। त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल र चीनसँगका विभिन्न सीमानाबाट भन्सार छली गरी ल्याइएको ४ सय ७७ किलो सुन प्रहरीले बरामद गरी सरकारलाई बुझाएको छ। प्रहरी सक्रियताकै कारण पछिल्लो समयमा सुन तस्करीमा कमी आएको प्रहरीको दाबी छ। यद्यपि, प्रहरीले भन्सार छलीको सुन रोक्न जस्तोसुकै उपाय अपनाए पनि विभिन्न नाकाबाट हुने तस्करी रोकिएको छैन।
कति आउँछ दैनिक सुन ?
नेपाली बजारमा दैनिक सिजनमा ४० किलो र अफसिजनमा २० किलो सुनको माग भएता पनि दैनिक २० किलो मात्र आयात हुने गरेको छ। नेपालमा वैधानिक रुपमा भित्रिने सुन र बजार मागलाई हेर्ने हो भने आधा बजारमा तस्करीको सुन किनबेच हुने गरेको देखिन्छ। आवश्यकता अनुसारको सुन आयात हुन नसकेकाले पनि तस्करीको सुनले बजार पाएको सुनचाँदी व्यवसायीहरु बताउँछन्। सरकारले हाल आयात हुने गरेको सुनको मात्रालाई बढाउन सके पनि सुन तस्करी केही हदसम्म कम हुने देखिन्छ। नेपालमा तस्करीको सुन नेपाली बजारका लागि मात्र नभएर भारत निर्यातका लागि पनि आउने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारी बताउँछन्।
सुन तस्करीको विगत
नेपालमा सुन तस्करी ४० को दशकदेखि नै भएको पाइन्छ। यसमा दरबारियादेखि चर्चित नेताहरुको संग्लनता पनि बेलाबेला जोडिँदै आएको छ। तर, पुष्टि भएर कारबाही प्रभावशाली र उच्च तहका नेता कसैलाई पनि भएको छैन। यस्तै २०७४ मा केरुङ हुँदै काठमाडौं भित्रिएको ८८ किलो सुन फेला पर्यो। तर, सुनका मालिक फेला परेनन्। गत माघ ९ गते पनि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर साँढे ३३ किलो सुन बरामद भयो। विमानस्थलबाट बाहिरिएको सुन एकाएक राजधानीबाट नै हरायो। यसमा पनि भरिया पक्राउ परेता पनि मालिक पक्राउ परेनन्।
नेपालमा सुन हवाई मार्गबाट दुवई र स्थलमार्गबाट केरुङ र तातोपानी हुँदै भित्रिने गरेको छ। प्रहरी अधिकारीका अनुसार २०५८ सालयता नेपालमा सुन तस्करी बढी भएको देखिन्छ। ०५८ यता मात्रै हालसम्म अढाई दर्जनपटक विभिन्न परिमाणका सुन प्रहरी टोलीले बरामद गरिसकेको छ। विगतमा तस्करहरूले चीनको खासाबाट भित्रिने विभिन्न सामान र कपडाहरूमा लुकाएर सुन नेपाल ल्याउने गरेको पाइएको थियो।
सुनमा बढेको तस्करीलाई कडाई गर्न सक्ने हो भने यसले देशको अर्थतन्त्रलाई माथि उठाउन सहयोग गर्नेछ। अवैध सुन रोक्न सके वैधानिक सुनको स्थान उच्च रहन सक्नेछ। सुन तस्करीलाई नियन्त्रण गर्न सके एकातिर देशको कमजोर अर्थतन्त्रलाई टेवा पुग्नेछ भने अर्काेतिर इमान्दार सुनचाँदी व्यवसायीहरुको मनोबलसमेत बढ्ने देखिन्छ। साथै सुशासन कायम हुनेछ। वैधानिक रुपमा भित्रिदै आएको दैनिक २० केजी सुनले पर्याप्त नहुने भएकाले वैधानिक रुपमा भित्रने सुनको मात्रा बढाउनका लागि सरोकारवाला निकायले पहल गर्न जरुरी छ।
कसरी बढाउने प्रहरीको मनोबल ?
सिर्दिवास प्रहरी चौकीका तत्कालीन प्रहरी नायव निरीक्षक तुल बहादुर सेन ठकुरीले १० केजी सुन समातेपछि ठानेका थिए, ‘संगठनले आफ्नो कामको उचित मूल्याङ्कन गर्नेछ।’ तर, नेतादेखि प्रतिष्ठित व्यापारीहरुको जालो च्यात्न सफल ठकुरीलाई जम्मा २१ सय नगद दिएर सम्मान गरियो। यसले उनको मनोबल उठ्न सकेन। बरु, प्रहरी संगठनले जिस्काएको तीतो अनुभूति मनभरि सम्हालिरहे। न उनलाई केन्द्रीय संगठनले सम्मानित गर्यो, न अरु कुनै प्रोत्साहन नै। ठकुरी एक प्रतिनिधि पात्र मात्र हुन्, नेपाल प्रहरीमा यस्ता सयौं जवान र अधिकृतहरु छन्।
रुपमा हेर्दा सुन समातेको देखिए पनि सुन समाप्ने प्रहरीहरु ‘तारो’मा पर्छन्। नीति निर्माता नै राष्ट्रको पक्षमा उभिने प्रहरीलाई तगारो ठान्छन्, त्यसैले कतिले त सुन तस्करीको सूचना पाएर पनि मौन बस्न बाध्य हुने गरेका छन्। तस्करीविरुद्ध अभियान चलाउने र सफलता हासिल गर्ने प्रहरीका लागि सरकार र गृह मन्त्रालयले कार्य सम्पादन मूल्याङ्कनमै पुरस्कृत गर्नुपर्ने सूरक्षाविदहरु बताउँछन्। यसले मात्र तस्करी र अपराधको जालो च्यात्न प्रहरीको मनोबल बढ्नेछ।


लाेकपाटी न्यूज

