म माथि नेकपाका नेताले षड्यन्त्र गरे : माेहन बस्नेत

mohan_basnet
लाेकपाटी न्यूज

काठमाडौं, ३ साउन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले आफुलाई बद्नाम गर्न नेकपाका नेताहरु नै लागि परेको आरोप लगाएका छन् । बस्नेतले स्रोत नखुलेको ६१ करोड रुपैयाँ प्रणामी बचत तथा सहकारी संस्थामा राखेको समाचार आएपछि शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले सो सहकारीमा आफ्नो तथा आफ्नो परिवारका कसैको पनि खाता समेत नभएको भन्दै सहकारीले समेत त्यसबारे प्रस्ट्याई सकेको दावी गरे।

‘मलाई राजनीतिक र सामाजिक दुवै हिसावले बदनाम गर्ने नियतले यस किसिमको तथ्यहिन कपोकल्पित कुरा बाहिर ल्याइएको हो ।यसरी बदनाम गर्न सत्तासिन नेपाल कम्युनिष्ट पार्टीका नेकपाका व्यक्तिहरुकै संलग्नता देखिन्छ’ बस्नेतले पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा भनेका छन् ।

उनले मिडिया काउन्सिल विधेयक स्वतन्त्र मिडियाको पक्षमा नभएकाले विरोध गर्दै आएको र त्यसमा सत्तारुढ दलका नेताहरुलाई पाच्य नभएपछि आफुविरुद्ध षड्यन्त्र रचिएको बस्नेतको भनाई छ ।