काठमाडौं, ३ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिईभीटी) को कामकारवाहीप्रति असन्तुष्टि जनाएका छन् । महासचिव पौडेलले मुलुकलाई समृद्ध बनाउने गरी आवश्यक जनशक्ति निर्माण गर्नुपर्ने सिटिईभीटीको काम चित्तबुझ्दो नभएको भन्दै असन्तुष्टि जनाएका हुन् ।
शुक्रबार सिटिईभिटी राष्ट्रिय कर्मचारी संगठनले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै पाैडेलले मुलुकलाई समृद्ध बनाउने गरी आवश्यक जनशक्ति निर्माण हुने गरी आफ्नो काम कारवाहीलाई अघि बढाउन सिटिईभीटीलाई सचेत गराए । उनले सिटिईभीटीको कामलाई प्रभावकारी बनाउने गरी सरकारको तर्फबाट आवश्यक नीतिगत, कानुनी र संरचनागत व्यवस्था गर्न आफूले पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
महासचिव पौडेलले जीवन उपयोगी शिक्षा र तालिम दिने उद्देश्यका साथ २०४५ सालमा स्थापना गरिएको सिटीईभिटीले मुलुकको राष्ट्रिय आवश्यकता अनुसारको जनशक्ति निर्माणको कामलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्ने बताए । उनले शिक्षालाई जीवन उपयोगी बनाएर मात्रै मुलुकको समृद्धि सम्भव हुने बताउँदै त्यसमा गम्भिर भएर सोच्न पनि सिटीईभिटीका पदाधिकारीहरुको ध्यानाकर्षण गराए ।



लाेकपाटी न्यूज

