पाइपलाइनबाट नेपालमा आयो डिजेल

petrolium-pipeline
फाइल तस्बिर
लाेकपाटी न्यूज

वीरगञ्ज, ३ साउन । नेपालले भारतबाट पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ ल्याएको छ । भारतको मोतिहारीबाट–अमलेखगञ्जसम्म पेट्रोलियम पदार्थ ल्याइएको हो ।

बहु प्रतिक्षित परियोजनाको रुपमा निर्माण सम्पन्न भएको मोतिहारी अमलेखगञ्ज पाइपबाट शुक्रबार बिहान डिजेल ल्याइएको निगमका अमलेखगन्ज डिपो प्रमुख प्रदीप यादवले बताए । उनका अनुसार आज बिहान ६ बजेतिर १ लाख लिटर डिजेल आइपुगेको छ । डिजेल पठाउनुअघि पाइपलाइनबाट पानी पठाएर परीक्षण गरिएको थियो ।

नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) का प्राविधिकले यसअघिनै पाइपलाइनको सफल परीक्षण गरेपछि आज पहिलो पटक पाइपलाइनबाट डिजेल भित्रिएको हो । अहिले परीक्षणको रुपमा १ लाख लिटर डिजेल पाइपलाइनबाट ल्याएको डिपो प्रमुख यादवले बताए ।

पाइपबाट प्रतिघन्टा दुई लाख लिटर पेट्रोलियम पदार्थ ल्याउन सकिने छ । दैनिक ४८ लाख लिटर पेट्रोलियम पदार्थ ल्याउनले क्षमता पाइपको छ । निगमले अमलेखगञ्ज डिपोमा दुई करोड लिटर क्षमताको डिजेल भण्डारस्थल बनाएको छ ।

अहिले नेपालले भारतबाट करिब १५ सय ट्यांकर तेल ढुवानी गर्दै आएको छ । अब पाइपलाइनबाट पेट्रोलियम पदार्थ ढुवानी गर्दा करिब तीन अर्ब रुपैयाँ जोगिने निगमको भनाइ छ । यसका अलवा नेपालले पाइपलाइनबाट पेट्रोलियम पदार्थको आयात गर्दा शुद्धता कायम राख्न र चुहावट नियन्त्रणमा पनि सहयोग पुग्नेछ । पेट्रोलिय पदार्थ चोरी, चुहावट र मिसावट रोक्न पनि पाइपलाइन सहयोगी हुनेछ ।

पाइपाइन नेपालतर्फ अमलेखगञ्जदेखि रक्सौलसम्म ३६.२ किलोमिटर लामो छ । चार अर्ब ४० करोड रुपैयाँ लागतको पाइपलाइन परियोजना इन्डियन आयल कर्पोरेसन (आइओसी)ले निर्माण गरेको हो । त्यसमा भारतको तीन अर्ब २० करोड रुपैयाँ अनुदान र एक अर्ब २० करोड नेपालको लगानी छ ।

सन् १९९५ मा नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको थियो । सन् २०१४ को अगस्टमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला यो परियोजनामा दुई देशबीच सम्झौता भएको थियो । २०७४ चैतमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा परियोजना शिलान्यास गरेका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्