यी जिल्लामा आउन सक्छ आकस्मिक बाढी 

badhi
लाेकपाटी न्यूज

काठमाडौं, ३ साउन । मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) देशका मध्य र पूर्वी पहाडमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता उपनाउन आग्रह गरेको छ। महाशाखाले उक्त क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले बाढीपहिरोको विपद् आउन सक्ने जनाएको छ।

महाशाखाले भनेको छ, ‘देशका मध्य र पूर्वी क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ, जसका कारणले ती क्षेत्रका पहाडी भू-भागमा पहिरो जानसक्ने र पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सहत बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ।’

आज मध्य र पूर्वी क्षेत्रमा मनसुनी गतिविधि केही सक्रिय हुने मौसमवद्हरुले बताएका छन्। हिझो/अस्तीका भन्दा आज केही मनसुनी गतिविधिहरु सक्रिय रहेकोले एक/दुई स्थानमा भारी वर्षाको सम्भावना महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए। उनका अनुसार अब पहिलेको जस्तो लगातार झरी नपरे पनि बदली र वर्षा केही बढ्ने सम्भावना छ।

महाशाखाका अनुसरा मनसुन न्यून चापीय रेखा नेपालको दक्षिणतिर अर्थात् भारतमा अवस्थित छ जसका कारण अहिले देशभर मनसुनी गतिविधि कम सक्रिय छ। तर एक/दुई दिनभित्र त्यो रेखा पुनः नेपाल भित्रिने सम्भावना रहेको मौसविद्को भनाइ छ। उक्त रेखा भित्रिएपछि पुनः ठूलो वर्षा हुने मौसमविद्को अनुमान छ।

आज इलाम, झापा, मोरङ्ग, सुनसरी, सप्तरी, मकवानपुर, सिन्धुली, सर्लाही, रौतहट, नवलपरासी, रुपन्देही, गुल्मी, पाल्पा, दाङ्ग र आसपासका जिल्लाको पहाड र चुरेबाट बहने केही ससाना नदीहरुमा आकस्मिक वहावको सम्भावना समेत रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्