काठमाडौं। कम्युनिष्ट पार्टी हार्नुमा बाह्य शक्तिबाट नभएर आफ्नै पार्टीभित्रैकै कमजोरीका कारण हार हुने गरेको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले बताएका छन्। काठमाडौं भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले उक्त कुरा बताएका हुन्।
उनले कम्युनिष्ट पार्टीहरु बाह्य शक्तिबाट नहार्ने तर पार्टीभित्र एकता कायम गर्न नसक्दा र आफैभित्रको अहंकार, व्यतिवाद, मनोवाद र एकले अर्कालाई निषेध गर्ने प्रवृत्ति नै कम्युुनिष्ट पार्टीको काल बन्ने गरेको बताएका हुन्। फराकिलो सोंच र समाजवाद एवं साम्यवादको लक्ष्यसहित अगाडि बढ्न सकेमात्र कम्युनिष्ट पार्टी शक्तिशाली बन्दै जाने उनले बताए।
‘सोभियत संघ विघटन हुनुमा अमेरीकी शक्तिका कारण भएको होइन, कुनै पुँजिवादी शक्तिले हमला गरेर भएको होइन। बरु, आफ्नै कमजोरीमाथि विजय हासिल गर्न नसक्दा, आत्मकेन्द्रित, स्वार्थ प्रेरित, एकले अर्कालाई कसरी सिध्याउने भन्ने प्रवृत्तिका कारण नै असफल भएका हुन्’ उनले भने, ‘एकताको बल, त्याग, तपस्या र बलिदानको बलमा मात्रै कम्युनिष्ट पार्टी सफल भएका छन्।’
निक्कै गम्भीर मुद्रामा देखिएका प्रचण्डले कम्युनिष्ट पार्टीहरु आफ्नै कमजोरीहरुको बोझले थिचेर, आफ्नै कमजोरीमाथि विजय प्राप्त गर्न नसक्दा असफल हुने गरेको बताए। ती कमजोरीहरु बिस्तारै बढ्दै जाने त्यसले गुटबन्दीको रुप लिने, गुट अनुशासन जस्तो बन्न जाने, अराजकता फैलने अनि बिस्तारै जनताको समस्यामा ध्यानकेन्द्रित हुनुभन्दा आफनो गुट, स्वार्थ केन्द्रित मात्रै काम गर्दैै जाँदा शोभियत संघ र पूर्वी युरोप विघटन भएको चर्चा गर्दै उनले यस प्रकारले थुर्पै क्रान्तिहरु प्रतिक्रान्तिमा जानुको मुख्य कारण भएको बताए।
उनले आफैभित्रको कमजोरीका कारण भएकाले त्यो इतिहासबाट नेपालका कम्युनिष्टले गम्भीर रुपले शिक्षा लिनुपर्नेमा जोड दिए। सम्बोधनको क्रममा प्रचण्डले एकता, आपसी साथ सहयोगमा कमजोरीमाथि स्वस्थ आलोचना, आत्मालोचना गर्ने, सिर्जनात्मक ढंगले काम गर्ने, जनताको सेवा गर्ने भावनामा मात्रै कम्युनिष्ट पार्टीको तागत रहेको बताए।



लाेकपाटी न्यूज

