काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले आफ्ना महामन्त्री मोहनविक्रम सिंह र नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह पुरीसँग भेटवार्ता भएको भन्ने समाचारको खण्डन गरेको छ।
बुधबार महामन्त्री सिंह र राजदूत पुरीबीच भेट भएको तस्वीर सार्वजनिक भएपछि मसालले त्यसको खण्डन गरेको हो। मसालले विज्ञप्ति निकालेर प्युठानका कांग्रेस नेता गोविन्द पोखरेलका छोराको बिहेमा राजदूतसँग संयोगवश देखादेख भएको तर कुनै राजनीतिक भेटघाट नभएको भन्दै खण्डन गरेको हो।
बुधबार तस्वीर सार्वजनिक भएपछि सञ्चार माध्यमहरुले सिंह र पुरीको भेटबारे रहस्यमय भेट भएको समाचार सार्वजनिक गरेका थिए। बिहीबार मसालले समाचारको खण्डन गरेको हो। यस्तो छ नेकपा (मसाल) द्वारा जारी विज्ञप्तिको पूर्णपाठ।
कतिपय अनलाइन र पत्रपत्रिकाहरुले समेत नेकपा (मसाल) का महामन्त्री का. मोहन विक्रम सिंह र उहाँकी पत्नी का. दुर्गा पौडेल समेतको भारतीय राजदुतसित ललितपुरको एउटा पार्टी प्यालेसमा दुई घण्टासम्म गोप्य वार्ता भएको भनि समाचार प्रसारित गरेका छन्। का. मोहनविक्रम सिंह र का. दुर्गा पौडेल समेत प्यूठानका कांग्रेसका नेता र प्यूठानको प्रतिनिधिसभाको निर्वाचन क्षेत्रमा का. दुर्गा पौडेलका प्रतिद्वन्द्वी गोविन्द पोख्रेलको छोराको विवाहमा गएको बेलामा त्यहाँ भारतीय राजदुत पनि आएका थिए। कार्यक्रमपछि भर्याङतिर जाने बेलामा भर्याङको मुखमा का. मोहनविक्रम सिंह र का. दुर्गा पौडेल समेतको भारतीय राजदुतसँग देखाभेट भएको कुरा सत्य हो। त्यो बेला विवाहमा आएका अरु १५–२० जना मानिसहरु पनि थिए। तर, त्यो बेला परस्परमा परिचय गर्ने वा कुराकानी गर्ने समेत कुनै कार्य भएको थिएन।
उक्त सामान्य देखाभेटलाई आधार बनाएर कतिपय अनलाइन र पत्रपत्रिकाले दुई घण्टासम्म राजदुतसँग गोप्य कुराकानी भएको र का. दुर्गा पौडेललाई मन्त्री बनाइदिनका लागि का. मोहनविक्रम सिंहले राजदुतलाई अनुरोध गरेका समाचारहरु कपोलकल्पित र निराधार हुन्। ती अनलाइन वा पत्रपत्रिकाहरुमा उहाँ (का. मोहनविक्रम सिंह) ले पहिले प्रधानमन्त्री ओलीसँग पनि का. दुर्गा पौडेललाई मन्त्री बनाइदिन अनुरोध गरेको, तर ओलीले त्यो कुरा नमानेको भन्ने कुरा पनि उल्लेख गरिएको छ। तर, वास्तविकता यो हो कि ओली प्रधानमन्त्री भएपछि उहाँ (का. मोहनविक्रम) को कहिल्यै भेटघाट नै भएको छैन र मन्त्री बनाउनका लागि अनुरोध गर्ने कुरा त धेरै टाढाको कुरा भयो।
अनलाइन र पत्रिपत्रिकामा आएका उपरोक्त झुट्ठा समाचारहरुले तल्लोस्तरको पीत पत्रकारितालाई नै बताउँछ र हामीले त्यस प्रकारको पीत पत्रकारिताको तीब्र शब्दमा भत्र्सना गर्न चाहन्छौं।
२०७६ साउन २ गते
रामप्रकाश पुरी, प्रवक्ता



लाेकपाटी न्यूज

