काठमाडौं, २ साउन । प्रतिबन्धित विप्लव समूहका केही नेता कार्यकर्ताले सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय नुवाकोटमा आत्मसमर्पण गरेका छन् । उनीहरुले पार्टी भित्रबाटै असुरक्षाको महशुस भएको भन्दै सुरक्षाको लागि प्रशासन कार्यालयमा आत्मसमर्पण गरेका हुन् ।
विप्लवका कार्यकर्ताले एक विज्ञप्ती जारी गर्दै विप्लव समूहबाट हुनसक्ने असुरक्षाबाट बचाई दिन अनुरोध गर्दै आफूहरुको जिउज्यानको सुरक्षाको मागसहित जिल्ला प्रशासन कार्यालय नुवाकोटमा आत्मसमर्पण गरेका छन् । यद्यपी पार्टी छाडेपछि अझै बढी सुरक्षा चुनौती हुने भन्दै यसलाई उचित सम्बोधन गरिदिन प्रशासनसँग माग गरेका छन् ।
गोरखा आरुघाट गाउँपालिका ७ स्थायी घर भएका सरोज न्यौपाने र सुर्खेत, वीरेन्द्रनगर नगरपालिका ४ का विष्णु भण्डारीले पार्टी परित्यागको घोषणा गर्दै आफ्नो रक्षाका लागि प्रशासनको सहयोग मागेका हुन् । सरकारले उच्च निगरानीका साथ खोजी थालेपछि सरकारबाट पनि र पार्टी भित्र पनि कठिन परिस्थिति भएको भन्दै पार्टी परित्यागको घोषणा गरेको बताएका छन् ।
यता सरकारले सो समूहसँग वार्छन गर्न उच्चस्तरीय राजनीतिक वार्ता टोली बनाएको थियो । उक्त टोलीका संयोजक सोमप्रसाद पाण्डेले नै विप्लवसँगको वार्ताको समन्वय र प्रयास गरिरहेका छन् । बाँके, पाल्पालगायतका जिल्लामा पुगेका उनले विप्लवका शीर्ष नेताहरुसँग छलफल गरेका छन् । यसअघि काभ्रेमा भएको छलफलबाट वार्ता प्रक्रियामा समस्याको समाधान खोजिने अनौपचारिक सहमति भएको छ ।



लाेकपाटी न्यूज

