काठमाडौँ, २ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीको युवा संगठनको नाम र झण्डाको टुंगो लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संगठनको नाम र झण्डाको टुंगो लगाएको संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले जानकारी दिए ।
उनका अनुसार युवा संगठनको नाम ‘राष्ट्रिय युवा संघ, नेपाल’ रहनेछ । संगठनको झण्डा यसअघि एमालेको युवा संघले प्रंयोग गर्दै आएको रातो र नीलो पृष्ठभूमिको बीचमा सेतो पाँचकुने तारा अंकित हुनेछ ।
यसअघि नेकपाले युवा संघको नेतृत्व र केन्द्रीय कमिटीको आकारको टुंगो लगाएको थियो । जेठ ३ गते सार्वजनिक गरिएको बाँडफाँट अनुसार युवा संगठनको नेतृत्व वाईसीएल र सहसंयोजक युवा संघको भागमा परेको थियो । संयोजकमा दीपशिखा र सहसंयोजकमा रमेश पौडेल चयन भइसकेका छन् । केन्द्रीय कमिटीको संख्या २५१ तोकिएको छ ।



लाेकपाटी न्यूज

