साउनको फेसन हरियो चुरा र मेहेन्दी, यसरी गर्नुहोस् रंगको संयोजन

लाेकपाटी न्यूज

साउन महिना शुरु भएपछि महिलाहरुमा मेहेन्दी र हरियो चुरा लगाउने प्रचलन छ । साउनले फेसन र शृंगारलाई फरक रंगमा पोत्ने गर्छ । साउनमा युवतीको हातमा मेहेन्दी देखिएन भने धेरैले सोध्छन् रे, ‘किन मेहेन्दी नलगाएकी ?’ अर्थात् साउनमा मेहेन्दी लगाउनै पर्छ । मेहेन्दीको मौसम पनि हो यो ।

यतिवेला हरियो, रातो, पहेंलो पहिरन लगाइन्छ । त्यस्तै रंगको संयोजन मिलाइन्छ, पोते र चुरामा पनि । त्यतीले मात्र कहाँ पुग्छ, हातभरी मेहेन्दी लागउनै पर्छ । साउन महिनाले फेसनमा ल्याउने एकरुपता पनि हो यो ।

मेहेन्दी किन ?

मेहेन्दी किन लगाउने त ? यसमा आ-आफ्नै बुझाई छ । कतिले भन्छन्, राम्रो श्रीमान् भेटियोस् भनेर । कतिले भन्छन्, पती-पत्नीको प्रेम प्रगाढ होस् भनेर । भनिन्छ, मेहेन्दी जति गाढा लाग्छ, उत्तिनै गाढा माया बस्छ ।

यसको अर्को महत्व पनि छ । असारे चटारोवाट उम्किएपछि सुकिलो मुकिलो भएर वस्न दिदी वहिनीहरुले हातमा मेहन्दी सजाउने परम्परा छ । खेतीवाली लगाउँदा हात खुट्टामा लागेको चोट हटाउन र त्यसलाई मुलायम बनाउन पनि मेहन्दी लगाउने गरिएको हो । तर, यो चलन कहिलेबाट आयो र किन साउन मै हरियो चुरा र मेहेन्दी लगाइन्छ भन्नेबारे सबैलाई थाहा नहुन पनि सक्छ ।

हिन्दू धर्मग्रन्थका अनुसार साउनमा माता पार्वतीले पति महादेवलाई खुसी बनाई सौभाग्य प्राप्त गर्न हरिया चुरा, पोते र हातमा मेहेन्दी लगाएकी थिइन् । र साउनमा जताततै हरियाली हुने हुनाले त्यही हरियालीमा रमाएर महादेवबाट सौभाग्य प्राप्तिको खुसी प्राप्त गर्न पाइन् ।’

प्राचीन किंवदन्ती अनुसार मेहेन्दी, हरियो चुरा र व्रत्र बस्दा विवाहित महिलाका श्रीमानको आयु बढ्छ । यसको वैज्ञानिक तथ्य पनि रहेको छ । विवाहित महिलाले यसरी चुरा मेहेन्दी लगाउँदा उनीहरुको सुन्दरता सामान्य भन्दा बढ्ने गर्छ जसले श्रीमानमा श्रीमतीको आकर्षण कायम राख्छ । श्रीमतीले व्रत्र बस्दा स्वास्थ राम्रो हुनुका साथै श्रीमाती प्रति श्रीमानको सम्बन्ध प्रगाढ हुने गर्दछ ।

साथै चुरा लगाउँदा यसको ध्वनिले मानिसको मस्तिष्कलाई एकाग्रता राख्न मद्दत गर्दछ । चुराको आवाजले मानिसको मस्तिष्कलाई अन्य धेरै नै फाइदा पुर्याउने वैज्ञानिकहरुको भनाइ छ ।

मेहेन्दीको फेसन

पछिल्लो समय मेहेन्दीले फेसनको स्वरुप लिएको छ । अहिले यसको अनेकौ डिजाइन पनि प्रचलनमा छ । त्यसमध्ये अरविक र व्राइडल वढी चल्तीमा छ । पछिल्लो समय गोल्डेन अरविक, लेटेस्ट अरविक, सुपर्व हिनाको ट्रेन्ड चलेको बताइन्छ ।

सदवाहार चल्तीमा रहने अरविक चाहि प्राय एक लाइनमा सजाइएको हुन्छ । लेटेस्ट अरविकमा माछा, कलश, गणेश, दुलहा दुलहीको डोली जस्ता आकृति हुन्छ । यो हातको कुहिनादेखि माहिली औंलासम्म लगाइन्छ । हातको एउटा औंलामा मात्र डिजाइनले छुन सक्छ । विवाहका लागि गरिने ब्राइडल डिजाइन पनि साउनमा प्रयोग गरिन्छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्