काठमाडौं, १ साउन । सरकारले ‘मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसीटिएस)’ को शुभारम्भ गरेको छ । अवैध आर्थिक कारोबारलाई अन्त्य गर्दै औपचारिक अर्थतन्त्र निर्माण गर्नका लागि साे प्रणाली उपयुक्त हुने बताइएकाे छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत रहेको राजस्व अनुसन्धान विभागले राजस्व चुहावट नियन्त्रण गर्ने मूल उद्देश्यका साथ कानून बमोजिम एक ठाउँबाट अर्को ठाउँमा मालसामान ओसारपसार गर्नुपूर्व ढुवानी गरिने मालसामानको विवरण वेभमा आधारित केन्द्रीय सूचना प्रणालीमा प्रविष्ट गरेर मात्रै ओसारपसार गर्नुपर्ने प्रणालीको आजबाट शुभारम्भ गरेको हो ।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा एक कार्यक्रमका बीच सो प्रणालीको उद्घाटन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकमा हुने अवैध आर्थिक कारोबारलाई अन्त्य गर्दै औपचारिक अर्थतन्त्र निर्माण गर्ने उद्देश्यका साथ सरकारले सो प्रणालीको पनि सुरुवात गर्नु परेको स्पष्ट पारे । उनले सो प्रणालीबाट साना व्यवसायीलाई हुने व्यवहारिक कठिनाई हल गरेर जान सरकार प्रतिवद्ध रहेको पनि बताए ।
राजस्व अनुसन्धान विभागको वेभसाईट www.dri.gov.np मा गएर उद्योगी व्यवसायीहरुले आफ्नो ढुवानी गर्ने वस्तु र साधानको संक्षिप्त विवरण सो प्रणालीमा प्रविष्ट गराउने व्यवस्था गरिएको छ । यसो गर्दा अनौपचारिक क्षेत्रमा कारोबार हुने सबै आर्थिक कारोबार पनि पारदर्शी हुने अर्थमन्त्री खतिवडाले बताए ।
यो व्यवस्था लागू भएसँगै सरकारले मालबहाक सामान चेकजाँचका लागि सञ्चालन गरिएका सबै पोष्टहरु हटाउने भएकाे छ । भिसीटिएस प्रणालीबाट बस्तुको ढुवानी व्यवस्था अति सहज हुने राजस्व अनुसन्धान विभागले दाबी गरेकाे छ ।



लाेकपाटी न्यूज

