काठमाडौं, १ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपद् व्यवस्थापनका कार्यलाई प्रभावकारी बनाउन आग्रह गरेको छ । कांग्रेस संसदीय दलले बुधबार विज्ञप्ति जारी गर्दै कांग्रेसले केही दिन अघिको वर्षासँगै आएको बाढी, पहिरो प्रभावित क्षेत्रमा राज्यले प्रभावकारी ढंगबाट राहत तथा पुनर्स्थापनाका कार्यहरु गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरेको छ ।
‘विगत केही दिन अगाडि परेको भारी वर्षाका कारण मुलुकका विभिन्न भूभागहरुमा आएको बाढी, पहिरो, जल डुवान र कटानका कारण ठूलो संख्यामा मानवीय क्षतिका साथसाथै भौतिक क्षति भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘क्षतिग्रस्त स्थलको रिर्पोटका आधारमा विपद् व्यवस्थापनका लागि राज्यले अझै प्रभावकारी ढंगले राहत एवं पुनर्स्थापनाका कार्य गर्न आवश्यक देखिएको छ ।’
कांग्रेसले बाढी, पहिरो र जल डुवान क्षेत्रमा विभिन्न रोग महामारीका रुपमा फैलिने सम्भावनालाई नियन्त्रण गर्न र थप मानवीय क्षति हुन नदिन सरकारलाई सशक्त रुपमा गतिविधि सञ्चालन गर्न आग्रह गरेको छ ।



लाेकपाटी न्यूज

