बिपत्तिमा राजनीतिक पूर्वाग्रहबाट माथि उठौं : सभापति देउवा

Sher-Bahadur-Deuwa
लाेकपाटी न्यूज

काठमाडौं। प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी पहिरोबाट पीडितहरुका लागि पार्टीले आफ्नो ठाउँबाट आवश्यक सहयोग गर्ने बताएका छन्। मंगलबार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले बाढी पहिरोबाट भएको धनजनको क्षतिप्रति दुख व्यक्त गरेका छन्।

देउवाले उद्दार र राहतका काममा खट्न कार्यकर्तालाई निर्देशन दिँदै सरकार पनि जिम्मेवार भएर लाग्नुपर्ने बताएका छन्। उनले सरकारका कामको प्रतिपक्षी दलका हैसियतले निरन्तर अनुगमन र खबरदारी रहनेसमेत उल्लेख गरेका छन्।

यस्तो छ सभापति देउवाको प्रेस विज्ञप्ति 

केही दिनयता मुलुकको विभिन्न भागमा अविरल वर्षा र पहिरोका कारण भएको जनधनको क्षतिप्रति नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकले असार २७ गते गहिरो दुःख व्यक्त गर्दै मृतकहरुको आत्माको चिर शान्तिको कामना गरेको छ। प्राकृतिक विपत्तिको यो घडी जारी केन्द्रीय कार्यसमितिको बैठक स्थगन गरेर सम्पूर्ण रुपले उद्धार र राहतमा समर्पित हुने निर्णय हामीले गरेका छौँं। विपत्तिको समय आन्तरिक राजनीतिक विषय हुन् या राष्ट्रिय राजनीतिका अन्य मुद्दा, सबै खाले राजनैतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर पिडामा परेका दिदीबहिनी–दाजुभाइको सेवामा समर्पित हुनु हामी सबैको परम कर्तव्य हो।

म नेपाली कांग्रेस पार्टीका सबै सदस्य र शुभचिन्तकहरुलाई उद्धार र राहतमा सहभागी हुन अपील गर्दै नेपाल सरकारलाई प्रभावित क्षेत्रमा प्रभावकारी ढंगले कार्य गर्न आग्रह गर्दछु।  प्रभावित क्षेत्रमा उद्धार र राहतको कार्य सरकारले कति व्यवस्थित ढंगले गरिरहेको छ, त्यसको अनुगमन समेत प्रमुख प्रतिपक्षी दलका नाताले नेपाली कांग्रेसले गर्ने जानकारी पनि गराउँदछु।

वर्षा र पहिरोका कारण अमूल्य जीवन गुमाउने पाँच दर्जनभन्दा बढी नागरिकको परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै सबै मृतकको आत्माको चिरशान्तिको कामना गर्दछु, जय नेपाल !

शेरबहादुर देउवा

सभापति