शारदा श्रेष्ठको जीवनबाट प्रभावित थिएँ : रेनु दाहाल

Renu Dahal
लाेकपाटी न्यूज

चितवन। साहित्यकार राजेन्द्र घायललाई शारदा श्रेष्ठ स्मृति पुरस्कार २०७६ द्वारा सम्मान गरिएको छ। साहित्य क्षेत्रको विकासमा योगदान दिएबापत ३० हजार रुपैयाँको पुरस्कारसहित घायललाई सम्मान गरिएको हो।

शारदा स्मृति प्रतिष्ठान चितवनले भरतपुरमा आयोजना गरेको कार्यक्रममा अर्का साहित्यकार बिदुर अधिकारीलाई ५ हजार रुपैयाँको डिल्लीराम धनसरा प्रतिभा पुरस्कार २०७६ ले सम्मान गरिएको थियो। भरतपुर महानगर प्रमुख रेनु दाहालले साहित्यकारद्वयलाई नगद र प्रमाणपत्र हस्तान्तरण गरेकी थिइन्।

कार्यक्रमकी प्रमुख अतिथि भरतपुर महानगर प्रमुख रेनु दाहालले आफू शारदा श्रेष्ठजस्तो बन्न नसके पनि उनीजस्तै बन्ने प्रयास गर्ने बताइन्। श्रेष्ठसँग २०६० सालमा चितवनमा आफ्नो भेट भएको बताउँदै उनले श्रेष्ठ निकै प्रतिभावान व्यक्ति भएको बताइन्।

उनको नामबाट स्थापित पुरस्कारले उनलाई सधैं जीवन्त बनाउन सहयोग पुगेको बताउँदै महानगर प्रमुख दाहालले पुरस्कार प्राप्त गर्ने व्यक्तित्वहरुलाई बधाई ज्ञापन गरिन्। उनले वर्तमान नेकपाबाट नागरिकले धेरै आशा गरेकाले अब छिट्टै तल्ला तहसम्म पार्टी कमिटी निर्माण गरी जनताको विकासको सपना पूरा गर्न पार्टी नेतृत्व लाग्नुपर्नेमा जोड दिइन्।

कार्यक्रममा नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार, प्रदेश सांसदहरु घनश्याम दाहाल, रामलाल महतो लगायतको सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै नेकपा जिल्ला अध्यक्ष परियारले शारदा श्रेष्ठको राजनीतिक यात्राका बारेमा चर्चा गरेका थिए।

२०६१ सालमा पार्टीको गण्डक क्षेत्रको बैठकमा सहभागी हुन चितवनको पहाडी क्षेत्र हँुदै जाने क्रममा तत्कालीन सत्ताले कब्जामा लिई उनलाई यातना दिई मारेको बताउँदै अध्यक्ष परियारले श्रेष्ठ निकै प्रभावशाली नेतृ र साहित्यकार भएको बताए।

sarda-puraskar1

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्