काठमाडौं, ३१ असार। पार्टीमाथि प्रतिबन्ध लगाइएको चार महिनापछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका शीर्ष नेता र सरकारी टोलीबीच पहिलोपटक औपचारिक छलफल भएको छ। गत आइतबार भक्तपुर र काभ्रेको सीमानजिकको एक होटेलमा भएको यो छलफलले वार्ताका लागि सकारात्मक वातावरण बनाएको सरकारी टोलीको भनाइ छ।
सरकारी टोलीको प्रतिनिधित्व तत्कालीन वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले गरेका थिए। छलफलमा विप्लवका स्थायी समिति सदस्यस्तरका नेता सहभागी थिए। उनको नाम गोप्य राखिएको छ। ‘यो प्रारम्भिक चरणकै छलफल हो, त्यसैले धेरै कुरा भन्न मिल्दैन। तर, छलफलले वार्ताका लागि सकारात्मक वातावरण बनाएको छ,’ पाण्डेले भने। सरकारले गत २८ फागुनमा विप्लव नेतृत्वको पार्टीमाथि प्रतिबन्ध लगाएको थियो। यसैबीच दुई पक्षबीच औपचारिक छलफल हुन सकेको थिएन।
विप्लवका नेताहरूसँग आइतबार छलफल गरेपछि पाण्डे सोमबार नेपालगञ्ज पुगेका छन्। त्यही आपसपास उनले मंगलबार विप्लवको शीर्ष नेतृत्वसँग वार्ता गर्ने स्रोतको दाबी छ। तर, पाण्डेले भने आफू वार्ताका लागि नभएर अन्य कामका लागि नेपालगञ्ज आएको जिकिर गरे।
सत्तारूढ नेकपाका नेताहरू वार्ताका लागि सकारात्मक भए पनि राजनीतिक मुद्दाभन्दा सत्ता लेनदेनमा बढी जोड दिने गरेको विप्लव पार्टीका एक केन्द्रीय सदस्यले बताए। ‘हाम्रो पार्टीको मत सत्ताको लेनदेनभन्दा राजनीतिक समस्या समाधान हुने गरी वार्ता हुनुपर्छ भन्ने छ। तर, सरकार पक्षका नेताहरू महासचिव कमरेड विप्लवलाई कहिले मन्त्रीको लोभ, कहिले एकतापछि पार्टी महासचिवको लोभ देखाउँछन्,’ ती केन्द्रीय सदस्यले भने। नयाँ पत्रिका दैनिकमा खबर छ।



लाेकपाटी न्यूज

