काठमाडौं, ३० असार । देशका तराई-मधेसका भू-भाग भारतीय बाँध र सडकका कारण डुबानमा परेका छन्। विशेष गरी प्रदेश २ र ५ का केही जिल्ला अधिकांश भाग डुबानमा चुर्लुम्म छन्।
डुबानले हजारौँ नागरिकको बिचल्ली भइरहँदा मधेसवादी भनिने समाजवादी पार्टी र राजपा नेपालले अहिलेसम्म मुख खोलेका छैनन्। डुबानको प्रसंगमा भारतीय पक्ष जोडिने भएकाले उनीहरुले अहिलेसम्म आधिकारिक वक्तव्य निकाल्न जरुरी ठानेका छैनन्। भारतको आलोचना गर्नुपर्ने डरले दलहरु मौन बनेका बेला एक जना पूर्वसभासदले भने कडा प्रतिक्रिया दिएका छन्।
तत्कालीन नेकपा माओवादीबाट संविधानसभा सदस्य बनेका अशोक जयसवालले भारतीय बाँधका कारण नेपाली भू-भाग डुबिरहँदा चुप लागेर बस्न नसकिने प्रतियक्रिया दिएका हुन्। पूर्वसभासद् जयसवालले भारतविरुद्ध कडा प्रतिक्रिया दिँदै जनस्तरबाट प्रतिरोध गर्नुपर्ने बेला आइसकेको बताए। बाँधका कारण रौतहटको गौर र जिल्लाको अधिकांश भाग डुब्दा पनि भारतीय सीमा सुरक्षा बलले रमिता हेरेको उनले दाबी गरेका छन्। ’
(शनिबार) गौर र रौतहट बाढीले डुबेको बेला छिमेकी मुलुक भारतको एसएसबी फोर्सले दशगजा बाँधमा पहरा दिइरहेको थियो। पानीको निकास बन्द गरि राखेको दृश्य छतबाट देखिरहेका थिएँ’, उनले भनेका छन्, ’यसरी गौर जलमग्न भएको देख्दा मन रोइरहेको थियो।पानीको स्वभाविक बहावलाई रोकेर छिमेकी मुलुकको जनतालाई मार्नु तथा दुख दिने प्रवृत्ति मेरो विचारमा यो भारतको कसाई प्रवृति हो।’ उनले भारतको यो प्रवृत्तिलाई विस्तारवादको संज्ञा दिँदै भारतविरुद्ध सबैले आवाज उठाउनुपर्नेमा जोड दिएका छन्। ’यस सन्दर्भमा म भारतीय विस्तारवादलाई मुर्दावाद भन्न चाहन्छु।
यस्ता छिमेकीको दलाली एवं चापलुसु गरेर मधेस र नेपालको हित एवं समृद्धिको कुरा गर्नु सिद्धा लफ्फाजी गफ हुने स्वतःसिद्ध छ’, उनले भनेका छन्, ’त्यस्ता दलालहरूबाट सावधान रहनुपर्छ। नेपालले दशगजा बाँधको विरूद्धमा जनसंघर्ष गर्नुपर्छ।’ उनले भारतीय ज्यादतीविरुद्ध नेपालले अन्तर्र्रा्ष्ट्रिय अदालतमा जाने आँट गर्नुपर्ने पनि बताए। ’भारतको हेपाहा प्रवृत्तिविरुद्ध नेपालले अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्नुपर्छ’, उनले भनेका छन्, ’यसका साथै बाढीपीडितका नाममा भारतले गर्ने सबै राहत सहयोग हामीले बहिष्कार गर्नुपर्छ भन्ने मलाई लाग्छ। यस बाढीको प्रमूख कारक तत्व भारत हो, तिनीद्वारा निर्मित दशगजा बाँध हो।’ पूर्वसभासद जैसवालले शनिबारको बाढीले गौरका मेनरोडमा ५ फिटभन्दा माथि पानीको सतह पुगेको बताएका छन्।
आफू बसेकै घरमा तीन फिट भन्दामाथि पानी पुगेको उनको भनाइ छ। ’जिल्ला प्रहरी प्राङ्गणमा झण्डै ५ फिटभन्दा बढी पानीको सतह छ। यतिबेला सबै डुबानमा रहेका कारण अरूको सहयोगको आश गर्नुभन्दा आ-आफ्नो ठाउँमा सजग रहनुस्’, उनले सजग गराउँदै भनेका छन्, ’यस बाढीको पानी निकासलाई अवरोध गरेको दशगजा बाँध भत्काउनेबारे नेपाल सरकारले छिटोभन्दा छिटो कुटनैतिक पहल गरी थप जनधनको क्षति हुनबाट जोगाउन पहल गरोस्।’




लाेकपाटी न्यूज

