काठमाडाैं, २८ असार । अविरल वर्षाका कारण नदीमा पानीको बहाव बढेसँगै सप्तकोशीमा पानीको बहाव यस बर्षकै उच्च भएको छ ।
पानीको बहाव बढेसँगै उच्च सुरक्षा सतर्कता अपनाइएको छ । बिहान ५ बजे मापन गरिएको पानी २ लाख २५ हजार ९ सय १५ क्युसेक प्रतिसेकेन्ड रहेकोमा ८ बजेको मापनमा बहाब बढेर २ लाख २८ हजार २ सय पुगेको हाे ।
पहाडी क्षेत्रमा पानी पर्ने क्रम नरोकिएकाले बहाब अझै बढ्न सक्ने अनुमान गरिएको छ । अहिले ५६ ढाेका रहेकाे व्यारेजका ३० ढोका खोलिएको छ । लगातार पानीको बहाव बढेपछि कोशी प्रभावित क्षेत्रमा मानिसलाई सुरक्षित स्थानमा सार्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।
बिहान ९ बजे सूचना जारी गर्दै नेपाल बाढी सूचनाले नियमित अनुगमन गर्न आग्रह गरेको छ । सप्तकोशी नदी चतरामा जलसतहले खतरा तह पार गरेपछि सबैलाई सचेत रहन पनि बाढी सूचनाले आग्रह गरेको छ ।
सो क्षेत्रका सर्वसाधारणलाई एसएमएसमार्फत सूचना पठाएको भन्दै उचित व्यवस्थापन र अनुगमनका लागि जुट्न स्थानीय प्रशासनलाई आग्रह गरिएको छ । स्थानीय प्रशासनको समन्वयमा कोशीको तटबन्ध र व्यारेज नियमित अनुगमन गर्नुपर्ने पनि उल्लेख गरेको छ।



लाेकपाटी न्यूज
