बझाङ, २७ असार । सुदूरपश्चिम प्रदेशको गौरवको योजना मानिएको बझाङको बुंगलमा रहेको कालंगा हाइड्रो प्रालिको फिल्ड कार्यालयमा तोडफोड भएको छ ।
हाइड्रोका जेसीबी चालक माधव बोहरालगायतले बुंगल नगरपालिका २ बस्तीकी ललिता धामीको सामूहिक बलात्कार गरी हत्या गरेको भन्दै स्थानीयले दोषीलाई कारवाहीको माग राखेर तोडफोड गरेका हुन्। यसले हाइड्रोको कामसमेत प्रभावित बनेको छ ।
बझाङको बुंगलमा रहेको कालंगा हाइड्रो प्रालिको फिल्ड कार्यालयमा स्थानीय र विद्यार्थीले तोडफोड गरेका कारण झन्डै १५ करोड रुपैयाँ बराबरको क्षति भएको छ। असार १६ गते स्थानीय ललिता धामीको सामूहिक बलात्कारपछि हत्या भएपछि आक्रोसित स्थानीय र विद्यार्थीले तोडफोड गरेका हुन्।
तर, कालंगा हाइड्रो प्रालिका संस्थापक वीरेन्द्र मल्लले भने दुःखद घटना भए पनि पीडित परिवार, जनप्रतिनिधि र हाइड्रोबीच सहमति भइसकेपछि केही व्यक्तिले घटना भएको पाँच दिनपछि सुनियोजित ढंगले तोडफोड गरेको आरोप लगाए। मृतक ललिता धामीका बुबा कलक धामीले भने अभियुक्त बोहराले आफ्नी छोरीलाई बलात्कार गरी हत्या गरेकाले कारवाही गर्न माग गरेका छन्।
प्रमूख जिल्ला अधिकारी सुरेश सुनारले विद्यार्थीलाई उक्साएर हाइड्रोमा तोडफोड गर्नेहरुलाई कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।तोडफोडपछि हाइड्रोको कार्यालयमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
तर, बलात्कारपछि हत्या भएको घटनामा हाइड्रोका सवारी चालकको समेत संलग्नता रहेको पाइएपछि स्थानीयवासीको आक्रोस थामिएको छैन। यसले सुदूरपश्चिम सरकारको गौरवको आयोजना मानिएको ६५ मेगावाट क्षमताको कालंगा हाइड्रोको काम प्रभावित हुने संकेत देखिएको छ।



लाेकपाटी न्यूज

