आज प्रधानमन्त्रीको विशेष निर्देशन : के-के छन् एजेण्डा ?

KP sharma oli
लाेकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र सचिवहरुलाई एकै ठाँउमा राखेर निर्देशन गर्ने भएका छन्। सरकारले आर्थिक वर्ष २०७५/०७६ मा गरेका कामका सम्बन्धमा सचिवहरुको वार्षिक विफ्रिङपछि आज निर्देशन मन्तव्य राख्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले बताए।

हिजो ६ घण्टा लगाएर मन्त्रीलाई पनि सँगै राखेर सचिवहरुमार्फत् प्रधानमन्त्रीले मन्त्रालयगत प्रगति समिक्षाका बारेमा विफ्रिङ लिएका थिए। नियमित समीक्षा बैठक भए पनि यसपटक प्रधानमन्त्रीले विशेष निर्देशन गर्न लागेका हुन्।

पछिल्लो चरण प्रधानमन्त्री ओली केही मन्त्री र सचिवहरुसँग रुष्ट छन्। खासगरी भारत लगायत तेश्रो मुलुकबाट आयातित तरकारी तथा फलफुलको विषादी परीक्षणका सन्र्दभमा सरकारको चौतर्फी आलोचना बढेपछि प्रधानमन्त्री ओली आक्रोशित बनेका छन्।

भारतीय दुतावासले परराष्टलाई सम्बोधन गरी लेखेको पत्रका विषयमा आफुलाई समेत जानकारी नदिई भित्रभित्रै कुटनीतिक सम्वाद थालिएको र सरकार निर्णयबाट पछि हट्दा भारतीय दबाबका कारण हटेको देखिन पुगेपछि प्रधानमन्त्री आक्रोशित भएका हुन्।

तर, उनले विषादी परीक्षण स्थगित गर्न भारतीय पक्षले लेखेको पत्रका विषयमा आफूलाई जानकारी नभएको र त्यसमा क्षमायाचना नै सार्वजनिक मञ्चबाट गरेका थिए। यो विषयमा पनि प्रधानमन्त्री ओलीले आज मन्त्री र सचिवलाई सँगै राखेर कडा निर्देशन दिने सम्भावना रहेको उनी निकट स्रोतले बतायो।

सचिवहरुको निर्देशनात्मक मन्तब्य सुनेका प्रधानमन्त्री ओलीले अबको क्याविनेटबाट विषादी प्रकरणमा जोडिएका सचिवहरुका विषयमा पनि केही स्टेप चाल्न सक्ने सम्भावना बढेर गएको स्रोतले बतायो। प्रधानमन्त्री भारतीय पत्र, विषादी प्रकरणमा कृषि र उद्योग आपूर्ति तथा वाणिज्य र स्वयं प्रधानमन्त्री कार्यालयका सचिवसँग पनि सन्तुष्ट छैनन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्