भारतीय दूतावासको पत्रको जवाफ परराष्ट्र मन्त्रालयले दिनुपर्छ : मन्त्री खनाल

chakrapani khanal
लाेकपाटी न्यूज

काठमाडौं, २६ असार । कृषि तथा पशुपंछी विकासमन्त्री चक्रपाणि खनालले भारतबाट आयात हुने तरकारी र फलफूलको विषादी परीक्षणका सन्दर्भमा भारतीय दूतावासले पठाएको पत्रको जवाफ परराष्ट्र मन्त्रालयले दिनुपर्ने बताएका छन्। भारतबाट आयात हुने तरकारीमा विषादी परीक्षण गर्न थालिएपछि भारतको दबाबमा सरकारले उक्त निर्णय फिर्ता लिएको थियो।

भारतीय दूतावासले नै पत्र पठाएर दबाव दिएको सन्दर्भमा भने प्रधानमन्त्रीसहित मन्त्रीहरु विभिन्न अभिव्यक्ति दिदै पंन्छिरहेका थिए। सोही सन्दर्भमा बिहीबार रिपोर्टस क्लवमा आयोजित साक्षात्कारमा मन्त्री खनालले पत्र परराष्ट्र मन्त्रालयमा आएको र त्यो दुई देशबीचको सम्बन्धको कुरा भएको बताए।

मन्त्री खनालले भने, ‘डब्लुटीओअनुसार पत्र आएको हो। यो सामान्य पत्र हो। तर, यसको जवाफ हामीले भन्दा पनि परराष्ट्रले दिनुपर्छ ।’ विषादी परीक्षणको निर्णय फिर्ता भएपछि सर्बत्र आलोचना भएको थियो । यद्यपि, विषादी परीक्षण तत्काल नगर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरकालीन आदेश दिइसकेको छ।मन्त्री खनालले विषादी चेकजाँच अहिले पनि जारी नै रहेको स्पष्ट पारेका छन्। विषादी परीक्षण आफ्नै प्रक्रियामा भैरहेको उनको भनाइ छ।

नेपालमा अहिले अस्तित्वमा रहेका विषादी परीक्षण ल्याबहरुको क्षमतामा प्रश्न रहेको सुनाउँदै उनले ल्याबलाई छिट्टै स्तरोन्नती गर्ने विश्वास व्यक्त गरे। विषादी चेकजाँच गर्ने निर्णयबाट सरकार किन ब्याक भयो ? भनेर प्रश्न उठिरहेको भन्दै उनले निर्णयमा नाकामा चेकजाँच भन्ने शब्द राख्दा समस्या भएको स्पष्ट पारे ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्