विप्लवका ८ कार्यकर्ता मारिए, ५ सय ७९ जना समातिए

Netra bikram chand Biplav
लाेकपाटी न्यूज

काठमाडौं, २६ असार । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आपराधिक क्रियाकलाप बढाउँदै लगेको निष्कर्ष निकाल्दै सरकारले फागुन २८ गते प्रतिबन्ध लगाउने निर्णय गर्‍यो। विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामाथि खलल पार्ने काममा उनीहरु आक्रामक रुपमा लागेको भन्दै प्रतिबन्ध लगाएको सरकारले बताएको थियो।

राज्यले वार्तामा बोलाउँदा पनि नआएपछि प्रतिबन्ध लगाउनुको विकल्प नरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार विभिन्न सार्वजनिक कार्यक्रममा बोल्दै आएका छन्। पछिल्लो समय ललितपुरको नख्खुमा एनसेल कार्यालयमा बम आक्रमणका क्रममा एक जनाको मृत्यु भएपछि विप्लव समूहमाथि कारवाही नगरेको भन्दै सरकारमाथि दबाब बढेको थियो। उक्त घटनापछि सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगायो।

प्रतिबन्धपछि प्रहरी विप्लव नेतृत्वको नेकपामाथि आक्रमक देखिएको छ। प्रतिबन्धअघि र प्रतिबन्धपछिका केही तथ्याङ्कहरुले सो कुरा पुष्टि गर्छ। प्रतिबन्धअघि विप्लवका १९० जना नेता-कार्यकर्ता पक्राउ परेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ। यो २०७५ वैशाखदेखि फागुन २८ गतेसम्मको तथ्याङ्क हो। पक्राउ परेका १९० जनामध्ये १७२ जनाबिरुद्ध मुद्दा दर्ता भएको छ।

प्रहरीका अनुसार प्रतिबन्धपछि भने ९फागुन २८ गतेदेखि असार २५ गतेसम्म० विप्लवका ५७९ जना नेता–कार्यकर्ता पक्राउ परेका छन्। तीमध्ये ५३६ जनाबिरुद्ध मुद्दा दर्ता भएको छ। जसमा ८७ जना पुर्पक्षको लागि कारागार चलान भएका छन् भने ७० जना अनुसन्धानको क्रममा रहेका छन्। ३९ जना सोधपुछपछि छुटेको र ३८३ जना मुद्दा दर्ता भइसकेपछि छुटेका छन्।

यसबीचमा ३५२ जना विप्लव नेतृत्वको नेकपा परित्याग गरेर अन्य पार्टीमा प्रवेश गरेको समेत पाइएको छ।
नेपाल प्रहरीको तथ्याङ्कअनुसार प्रतिबन्धपछि हालसम्म ८ जना विप्लव कार्यकर्ताले ज्यान गुमाएका छन्।
प्रहरीको कारवाहीमा परी ३ जना र बम विस्फोटमा परी ५ जनाले ज्यान गुमाएका हुन्। यस्तै ७ जना घाइते भएका छन्।

प्रहरीको कारवाहीमा परी सर्लाहीको लालबन्दीमा असार ५ गते एक जनाले ज्यान गुमाए। ज्यान गुमाउनेमा विप्लव नेतृत्वका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल रहेका थिए। नेकपाले यसलाई गैरन्याययीक हत्या भनिरहँदा गृहमन्त्री रामबहादुर थापाले भने पौडेलको सुरक्षाकर्मीसँगको दोहोरो भिडन्तमा नै मृत्यु भएको बताएका छन्।

यस्तै, भोजपुरमा हालसम्म दुई जनाले ज्यान गुमाएका छन्। प्रहरीको गोली लागेर नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ता तीर्थराज घिमिरेको जेठ ७ गते मृत्यु भएको हो। टेम्केमैयुङ्ग गाउँपालिका २ स्थित मैयुङ्ग क्षेत्रको धोद्रे जंगलमा प्रहरीको गोली लागेर घाइते उनको उपचारको क्रममा बीपी स्वास्थ्यविज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो। प्रहरीले मुठभेडका क्रममा गोली लागेर घिमिरेको मृत्यु भएको दाबी गरेको छ। तर, विप्लव समूहले भने प्रहरीको दाबीको खण्डन गर्दै आइरहेको छ।

यस्तै असार २५ गते प्रहरीसँगको मुठभेडमा विप्लव समूहका जिल्ला नेता इन्चार्ज नीरकुमार राईको ज्यान गएको छ।
जिल्लाको शनिबारे भन्ने स्थानमा रहेका पानधारे होटलमा उक्त घटना भएको थियो। सो घटनामा प्रहरी जवान सञ्जिव राईको पनि गोली लागेर मृत्यु भएको छ। अर्का प्रहरी जवान खोमनाथ भट्टराई घाइते छन्।

यस्तै जेठ १२ गते सुकेधारा र अनामनगरमा अपरान्हतिर बम विस्फोट भयो। सुकेधारा बम विस्फोटमा ५ जनाको मृत्यु भयो भने अनामनगरमा एक जनाको मृत्यु भयो। बम विस्फोटमा नेकपाका ५ जनाले ज्यान गुमाए भने एक जना सर्वसाधारणले पनि ज्यान गुमाए। सुकेधारा विस्फोटको घटनामा ज्यान गुमाउने नेकपा कार्यकर्ताहरुमा विभुराम विक भन्ने दिपेन विक, निरन्तर मल्ल, गोकुल रानामगर, रामकुमार श्रेष्ठ र महावीर छन्। श्रेष्ठ र महाविरको उपचारका क्रममा मृत्यु भएको हो।

अनामनगरको घट्टेकुलो विस्फोटमा भने प्रज्वल शाहीको मृत्यु भएको हो। उनी विप्लव निकट विद्यार्थी संगठनका सीटीईभीटी अध्यक्ष समेत हुन्। सुकेधारा विस्फोटमा अन्य तीनजना घाइते भएका थिए भने घट्टेकुलो विस्फोटमा एकजना घाइते भएका थिए। सोही दिन थानकोटमा पनि बम विस्फोट भएको थियो। विस्फोटमा विक्रम लामा र बुद्ध लामा घाइते भए।

उनीहरुसमेत विप्लवकै कार्यकर्ता रहेको प्रहरी दाबी छ। उनीहरुले मोटरसाइकलमा बम बोकेर हिँडेको अवस्थामा विस्फोट भएको प्रहरीको भनाइ छ। यस बीचमा प्रहरीले विप्लव नेता–कार्यकर्ताहरुको साथबाट २३ थान हतियारसमेत बरामद गरेको छ।  यस्तै ४१७ राउण्ड गोली बरामद गरेको प्रहरीले जनाएको छ। डेटोनेटर ४, डेटकर्ट ३१ समेत बरामद गरेको प्रहरी तथ्याङ्कमा उल्लेख छ।

विप्लव नेतृत्वको नेकपालाई सरकारले प्रतिबन्द लगाएपछि पार्टीले देशका १८ ठाउँमा बम विस्फोट गरेको प्रहरीले जनाएको छ। यस्तै १० ठाउँमा आगजनी तथान तोडफोडमा घटना घटाएको प्रहरी तथ्याङ्कमा उल्लेख छ । नेपाल प्रहरीको तथ्याङ्कमा विप्लव कार्यकर्ताहरुले हालसम्म ५ सय ११ थान हतियार बुझाएका छन्। गृह मन्त्रालयले फागुन ३० गते जारी गरेको सूचनाको आधारमा ४८३ जनाले हतियार बुझाएका थिए।

यस्तै फागुन ३० गतेको सूचनाअवधि पश्चात गृह मन्त्रालयले ३५ दिने सूचना जारी गरेपछि २८ जनाले हतियार बुझाएको पाइएको छ। कुल बुझाइएका हतियारमध्ये १८९ अवैध हतियार र ३२२ वैध हतियार रहेको प्रहरीले जनाएको छ। हालसम्म ९९३ राउण्ड गोलीसमेत बरामद भएको छ। जसमा ५०० अवैध र ४९३ वैध रहेको छ। सुजन पन्तले रातोपाटीमा समाचार लेखेका छन्।