काठमाडौं। ६३ वर्षदेखि निर्माण कार्य सुरु गरेको कान्ति लोकपथ अबको साढे तीन महिनामा सञ्चालनमा आउने भएको छ। २०७६ वैशाखदेखि सञ्चालनमा ल्याउने उद्देश्यले लोकपथका स्तरोन्नतिको काम भए पनि विस्फोटक पदार्थको अभावले गर्दा तोकिएको समयमा निर्माण कार्य सम्पन्न हुन नसकेकाले केही समय पछाडि धकेलिएको हो।
‘आगामी असोजदेखि मालवाहक ट्रक र यात्रुवाहक बस कान्तिलोक पथ भएर आउजाउ गर्नेछन्,’ कान्तिलोक पथ आयोजनाका इन्जिनियर एवं सूचना अधिकारी अमिन्द्र खड्काले भने, ‘६ महिनाभित्रमा सडक फराकिलो बनाउने र अधिकांश भाग कालोपत्रे गरिसक्नेछौं।’ असोजको अन्तिमसम्ममा कान्ति लोकपथ कालोपत्रे गर्ने लक्ष्य आयोजनाको छ।
मकवानपुरको सिमात, ललितपुरको काल्चे, झाँक्रीडाँडा लगायत क्षेत्रका सडकलाई फराकिलो बनाउने कार्य भइरहेको छ। कान्ति लोकपथको अरू भाग चौडा बनाउने, नाली बनाउने पिच गर्ने कार्यहरू तीव्रगतिमा भइरहेका छन्। उक्त मार्ग निर्माण भएपछि हेटौंडाबाट मुग्लिन हुँदै काठमाडौं आउने २ सय २६ र पालुङ हुँदै आउने एक सय ३६ किमि सडकको विकल्प तयार हुनेछ।
यो मार्ग बनेपछि काठमाडौंसम्म ठूला सवारीले सहज रूपमा आवागमन गर्न सक्नेछन्। कान्ति लोकपथमा स्तरीय मानिने ‘अस्फाल्ट पिच’को प्रयोग गरिएको छ। हेटौंडातर्फको कान्ति लोकपथको प्रस्थान बिन्दु बुद्धचोक हो भने काठमाडौंतर्फको प्रस्थान बिन्दु ललितपुरको सातदोबाटो हो।
यो लोकपथको निर्माण गर्न चालु आवमा ६० करोड रुपैयाँ विनियोजित गरेको थियो। हेटौंडाको बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्म ९० किमि लम्बाइको रहेको यस मार्गमा साढे आठ मिटर चौडा बनाएको छ। दुई लेनमा गाडी चल्ने गरी सात मिटरमा कालोपत्रे गरिएको छ।
कान्ति लोकपथको ट्रयाक २०१३ सालमा खुलेको थियो। सुरुमा एक लेनको यो सडकमा ०१६ सालदेखि गाडी चल्न थालेका थिए। तर, ललितपुर र मकवानपुरको सीमास्थित वाग्मती नदीमा पुल नबनेको र सडकको दुरावस्थाका कारण सवारी चलाउन अयोग्य रहँदै आएको थियो। ६ दशकपछि मात्र उक्त सडक सरकारी प्राथमिकतामा परेको हो।



लाेकपाटी न्यूज

