काठमाडौं, २५ असार। प्रहरी महानिरीक्षक सर्वेन्द्रनाथ खनालले भोजपुर घटनाबारे संसदलाई जानकारी गराएका छन्।
पूर्व निर्धारित छलफल अनुसार बुधबार बिहान संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा उपस्थित भएका आईजिपी खनालले घटना बारेमा जानकारी गराएका हुन्।
‘भोजपुर नगरपालिकाको हटिया बजारमा नेपाल प्रहरीमाथि एक्कासि गोली चल्यो, जवाफी फायरिङमा नेपाल प्रहरीका एक र विप्लव पक्षका एक कार्यकर्ताको मृत्यु भएको पुष्टि भएको छ’, महानिरीक्षक खनालले भने। घटनास्थलबाट एउटा चाइनिज पेस्तोल र ६ राउन्ड गोली बरामद भएको बताउँदै उनले नेपाल प्रहरीको घुमुवा टोलीमाथि एक्कासि गोली चलेको जानकारी गराए।
भिडन्तमा नेपाल प्रहरीका एकजना र विप्लवका कार्यकर्ता एकजना गरी दुई जनाको मृत्यु भएको छ।‘प्रहरीको गोली लागेर मृत्यु हुनेमा विप्लव समूहका ३५ वर्षीय ओखलुढुंगाको जिल्ला इन्चार्च नीरकुमार राई छन्’ खनालले थपे, ‘त्यस्तै नेपाल प्रहरीका जवान सञ्जीव राईको पनि विप्लव पक्षका कार्यकर्ताको गोली लागेर मृत्यु भएको छ।
घटनामा एक प्रहरी जवान सोमनाथ भट्टराई घाइते छन्।’ गोली लागेर घाइते भएका नीरकुमार र सञ्जीव दुबैको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको खनालले बताए।



लाेकपाटी न्यूज

