काठमाडौं, २५ असार । देशभर मनसुन सक्रिय भएकाले आज बुधबार दिउँसो देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भूभागमा वर्षाको सम्भावना छ। देशको थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले बताए।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार मेची, बिरिङ्ग, निन्दालगायत झापा, मोरङ्ग, सुनसरी, इलामबाट बहने साना नदीहरु केहीमा बहाव सतर्कता तहसम्म पुग्न सक्ने जनाएको छ। बाढीमा सतर्कता अपनाउन महाशाखाले जारी गरेको बुलेटिनमा सुदूर पश्चिम, गण्डकी प्रदेश, प्रदेश ३, २ र १ को पहाडी र चुरेबाट बहने केही ससाना नदीहरुमा समेत आकष्मिक वहाव हुने सम्भावना रहेकोले सामान्य सतर्कता अपनाउन आग्रह गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाकाले असार २३, २४ र २५ गते लगातार ३ दिनसम्म मध्यमदेखि भारीसम्म वर्षा हुने जनाएको थियो। यो तीन दिन बाढीपहिरो पनि जानसक्ने खतरा रहेकाले जोखिम क्षेत्रका बासिन्दाले होसियारी अपनाउनु आवश्यक छ। यसपटक १० दिन ढिला गरी जुन २० तारिखमा मनसुन नेपाल भित्रिएको हो।
त्यसयता पहिलोपटक आइतबारदेखि मनसुन देशभर सक्रिय बनेको मौसमिवद् रिमालले बताए।भारतमा रहेको न्यून चापीय रेखा (पानी पार्ने प्रणाली) उत्तर (नेपाल) तर्फ सर्दै गएकाले नेपालमा मनसुनी गतिविधि तीव्र बनेको मौसमविद् हरुले जनाएका छन्।



लाेकपाटी न्यूज
