सीएमसीका विद्यार्थीको नारा : ‘मेडिकल माफिया मूर्दावाद !’

IMG_9235-1024x513
लाेकपाटी न्यूज

चितवन, २४ असार। चितवन मेडिकल कलेजले चर्को शुल्क लिएपछि विद्यार्थी आन्दोलित भएका छन्। सरकारले तोकेको भन्दा बढी शूल्क लिएर लुट मच्चाएको भन्दै विद्यार्थी आन्दोलित भएका हुन्। उनीहरुले मेडिकल कलेज अगाडि चर्को नाराबाजीसमेत गरेका छन्।

विद्यार्थीले चर्को शूल्कका विरुद्ध भरतपुरको चौबिसकोठीसम्म र्‍याली निकालेका छन्। उनीहरुले ‘मेडिकल माफिया ‘मूर्दावाद, अवैध शुल्क फिर्ता गर’ लगायतका नारा लगाएका थिए। विद्यार्थी पोसाकमा र्‍यालीमा सहभागी विद्यार्थीहरुले सरकारले तोकेभन्दा बढी शूल्क लिए कलेज ठप्प पार्ने चेतावनी पनि दिएका छन्।

कलेजले एमबीबीएसको भर्ना शुल्क नेपाल सरकारले तोकेभन्दा १२ लाख देखि २५ लाखसम्म अवैध असुलेको विद्यार्थीको आरोप छ। सरकारले एबीबीएसकोे भर्ना शूल्क ४२ लाख तोकेको छ। तर, मेडिकल कलेजले बिना रसिद विद्यार्थीबाट अवैध शूल्क असुलिरहेको छ। कलेज प्रशासनसँग शूल्कको कुरा गर्दा उल्टै धम्क्याउने गरेको विद्यार्थीले बताएका छन्। ‘एबीबीएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी रुविन शाह भन्छन्, ‘हामीलाई कलेजले चरम अन्याय गरेको छ, यसको विरुद्ध आन्दोलित भएका हौं।’

‘आइओएमले पुरक परीक्षा शूल्क २५ सय तोकेको छ। तर, कलेजले पाँच हजार असुलिरहेको छ। यसको विरुद्धमा बोल्दा उल्टै कलेजले धम्क्याउँछ’ शाहले भने। उनले अन्यायका विरुद्ध आन्दोलित भएको भन्दै माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताए।

तेस्रो वर्षमै अध्ययन अर्का विद्यार्थी बसन्त शाहले परिक्षाका बेला पैसा माग्ने र मानसिक तनाव दिने गरेको बताए। कलेजको अत्याचार विरुद्ध र्‍याली निकाल्न खोज्दा परीक्षामा फेल गर्ने धम्की दिएको उनले बताए। विद्यार्थीले होस्टेल भित्रको क्यान्टिनको शुल्कसमेत वृद्धि गरेको विद्यार्थीको भनाइ छ। क्यान्टिनका विषयमा तीन महिनादेखि कलेज प्रशासनलाई भनेको तर कुनै सुनुवाई नभएको उनीहरुले बताए।

शिक्षा मन्त्रालयले गत चैत ७ गते विद्यार्थीबाट लिएको रकम एक महिनाभित्र फिर्ता गर्न निर्देशन दिएको थियो। तर, सरोकारवालाहरुसँगको सहमतिपछि मन्त्रालयले दिएको निर्देशनले तीन महिना पार गर्दा पनि कार्यान्वयन भएको छैन।

मन्त्रालयले विश्वविद्यालयका प्रतिनिधि, कलेज सञ्चालक, नेपाल मेडिकल काउन्सिल र मन्त्रालयको प्रतिनिधिको रोहबरमा शुल्क फिर्ताको अनुगमन गर्ने निर्णय पनि गरेको थियो। परीक्षा, इन्टन्र्सिप, भर्ना, रजिस्ट्रेसन, पुस्तकालय, फिल्ड भिजिट, डेभलपमेन्टलगायत शीर्षक राखेर कलेजहरूले सरकारले तोकेभन्दा दुई गुना बढीसम्म रकम लिने गरेका छन्।

त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन पाएका मेडिकल कलेजहरूले एमबीबीएस, बीडीएस लगायत मेडिकल शिक्षाका अन्य विषयमा विद्यार्थीसँग तोकेभन्दा लाखौं बढी रकम उठाएर ठगी गर्दै आएका छन्। मन्त्रालयले नेपाल मेडिकल काउन्सिलसहित दुवै विश्वविद्यालयलाई रकम फिर्ता गर्न पत्राचार गरे पनि मेडिकल कलेज सञ्चालकहरुले टेरपुच्छर लगाएका छैनन्।

यसअघि, संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिले समेत तोकिएको समयभित्र शुल्क फिर्ता गराउन सरकारलाई निर्देशन दिएको थियो। शिक्षा मन्त्रालय शुल्क फिर्ताका विषयमा कलेजहरूलाई ताकेता नगर्दा विद्यार्थीहरु मारमा परेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्