काठमाडौं, २४ असार । प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले जनसङ्ख्या बढी देखेर सरकारले मार्न खोजेको हो भनी प्रश्न गरेकी छिन्। मंगलबार संघीय संसदमा बोल्दै नेतृ भुसालले सरकारले विषादीयुक्त तरकारी नेपाल ल्याउन दिएर सरकारले मन्द विष दिइरहेको आरोप लगाइन्।
भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादीको मात्रा परीक्षण गर्ने कार्य सरकारले रोकेको भन्दै यसबाट सरकारले जनतालाई मार्न खोजेको आरोपसमेत लगाइन्। उनले भनिन्, ‘यो सरकारलाई ३ करोड जनसङ्ख्या अत्यन्त बढी लाग्यो कि विषादीयुक्त खानेकुराहरु दिनका लागि मन्द गतिबाट विषपान गराएर जनसङ्ख्या घटाउने उद्दतमा किन लाग्यो यो सरकार ? यसको जवाफ सदनमा दिनुपर्नेछ।’
संसद्मा बोल्दै नेतृ भुसालले विषादी परीक्षण स्थगनको सम्बन्धमा प्रधानमन्त्रीले झुट बोलेको आरोप लगाइन्। परराष्ट्र मन्त्रालय हुँदै उद्योग मनत्रालयमा पुगेको पत्रलाई प्रधानमन्त्रीले कुन पत्र, के को पत्र, कसले दिएको पत्र, कसले पढेको पत्र’ भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएको पनि आरोप लगाइन्।
सरकार नीतिगत भ्रष्टाचारमा तल्लीन रहेको र राज्यको ढुकुटीमा नीतिगत भ्रष्टाचार भइरहेको भन्दै ढुकुटी रित्तिने गरी भ्रष्टाचार गर्ने तर विषादी परीक्षण गर्ने ल्याब छैन भन्ने बाहाना बनाएको भन्दै विष खाएर नेपाली जनताले आफ्नो ज्यानको आहुती दिनुपर्ने हो भन्दै सरकारबाट जवाफ मागेकी थिइन्।



लाेकपाटी न्यूज

