काठमाडौं, २४ असार । महानगरीय प्रहरी प्रभाग भैंसेपाटीबाट तीन जना थुनुवा फरार भएपछि चार जनालाई कारवाहीको तयारी थालिएको छ।रात्रि ड्युटीमा रहेका जवान, ड्युटी संयोजक हवल्दार, ड्युटी अफिसरलगायतलाई निलम्बन गरेर कारवाही गर्ने तयारी गरिएको हो।
सोमबार राति भैंसेपाटीस्थित प्रहरी कार्यालयको हिरासतको ग्रिल उप्काएर तीन जना थुनुवा फरार भएका थिए। लागू औषध कारोबार मुद्दाका रविकुमार तिम्सिना तथा डाँका चोरी मुद्दाका सम्शेर माझी र रुद्रलाल श्रेष्ठ फरार भएका हुन्।
प्रहरीको लापरवाहीमा उनीहरु फरार भएका हुन् वा थुनुवा र प्रहरीबीच मिलेमतो पनि थियो भन्ने विषयमा अनुसन्धान भइरहेको छ। अनुसन्धानको क्रममा महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीको टोली भैंसेपाटी पुगेर स्थलगत निरीक्षण गरेको छ। ललितपुर प्रहरी परिसरले पनि एसपी दुर्गा सिंहको नेतृत्वमा अनुसन्धान टोली खटाएको छ।
एसएसपी किरण बज्राचार्यले प्रारम्भिक निरीक्षणको नतिजा बुझाएपछि कस्तो खालको कारबाही गर्ने भन्ने निक्र्यौल हुने महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका डीआईजी शैलेश थापा क्षेत्रीले बताए । ‘क–कसको के–के भूमिका थियो भन्ने कुरा छानविनमा देखिन्छ त्यसअनुसार अगाडि बढ्छौं,’ डीआईजी क्षेत्रीले भने।
ललितपुरको जावलाखेलस्थित प्रहरी कार्यालयमा स्थान अभाव भएको भन्दै भैंसेपाटीमा राखिएका थुनुवाहरु फरार भएका हुन्।



लाेकपाटी न्यूज

