काठमाडौं। सामान्यत कुनै व्यक्तिले घर भाडामा लिएमा राज्यलाई तिर्नुपर्ने कर पनी तिनुपर्ने हुन्छ। तर, बाँकेको कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले घरबहाल कर घरभाडामा बस्नेले नभई घरधनीले तिर्नुपर्ने बताएका छन्।
नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समितिको आयोजनामा सोमबारदेखि सुरु भएको कर शिक्षा तथा लेखा व्यवस्थापन तालिमको उद्घाटन सत्रमा बोल्दै उनले यस्तो बताएका हुन्। राउतले भाडा आफूले लिएर कर डेरावाललाई तिर्न लगाउनु न्यायोचित नभएको पनि बताए।
नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समितिको आयोजना तथा कोहलपुर नगरपालिकाको सहयोगमा आयोजना गरिएको ५ दिने उद्यमी व्यवसायीहरुको क्षमता विकास तालिमको प्रशिक्षकहरुले प्रशिक्षण दिइरहेका छन्। कार्यक्रममा कोहलपुर क्षेत्रका ५० जनाको व्यवसायीहरुको सहभागिता रहेको छ।
कार्यक्रममा नगर प्रमुख राउतले व्यवसायीहरुले तिरेको कर विकास निर्माणमा खर्चिने हुँदा सबै उद्यमी व्यवसायीलाई कर नियमित तिर्न आग्रह गरेका छन्। उनले डेरावाललाई कर तिर्न नलगाउन र घरधनीले नै कर तिर्न आग्रह पनि गरेका छन्।
कार्यक्रममा बोल्दै नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष पूर्ण बहादुर भण्डारीले व्यवसायले नै देशको अर्थतन्त्र मजबुज बनाउने भएकाले सबैलाई व्यवसायी बन्न आग्रह गरे। कोहलपुर नगरपालिका सामाजिक विकास समितिकी संयोजक नारायणी वलीले कर तिर्नु नागरिकको दायित्व भएकाले आफूले तिर्नुपर्ने कर समयमै तिरेर असल नागरिकको परिचय दिन अपील गरिन्।



लाेकपाटी न्यूज

