काठमाडौं, २३ असार । संसदीय समितिको बैठक स्थगित भएको छ। स्थगित बैठक दिउँसो फेरि बस्दै छ। प्रस्तावित चार राजदूतहरुको संसदीय सुनुवाइ बीचमै रोकिएको छ।
संसदीय सुनुवाइ समितिको सोमबार बिहान बसेको बैठकमा राजदूतहरुको सुनुवाइ सुरु गरिए पनि बीचमै रोकिएको हो।बिहान रोकिएको सुनुवाइ दिउँसो ३ बजे बस्ने बैठकमा पुनः सुरु गरिने समितिका सदस्यहरुले बताएका छन्।अस्ट्रेलियाका लागि महेशराज दाहाल, बंगलादेशका लागि डा. वंशीधर मिश्र, कतारका लागि नारदनाथ भारद्वाज र स्पेनका लागि दावाफुटी शेर्पाको नाम सरकारले प्रस्ताव गरेकोमा आज सोमबार समितिले सुनुवाइ गर्न लागेको हो।
गत जेठ २३ गते सरकारले उनीहरुको नाम राजदूतमा प्रस्ताव गरेको थियो।
आज सोमबार बिहानको बैठकमा मिश्रका विषयमा सुनुवाइ सुरु भएपछि बैठक स्थगित गरिएको हो।समितिले प्रस्तावित राजदूतहरुविरुद्ध कुनै उजुरी भए उजुरी दिन असार १४ गतेसम्मको समयसीमा दिएको थियो।
प्रस्तावित राजदूतहरुविरुद्ध दुई वटा मात्र उजुरी परेका छन्।
तर उजुरीकर्ता छलफलमा आउन नचाहेकाले समितिमा ती उजुरीमाथि छलफल नहुने भएको छ। समितिले प्रस्तावित चारै जनाको नाम अनुमोदन गर्ने तयारी गरेको छ। समितिले नाम अनुमोदन गरेपछि राजदूत नियुक्तिको बाटो खुल्ने छ।



लाेकपाटी न्यूज

