काठमाडौं। उपप्रधानमन्त्री तथा स्वास्थ्य जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले प्रत्यक्ष जनताबाट निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन व्यवस्थाले मात्र मुलुकलाई समृद्ध बनाउन सकिने बताएका छन्।
उनले संसदीय प्रणालीबाट मुलुकको विकास सम्भव नरहेकाले अब प्रत्यक्ष जनताबाट निर्वाचित राष्ट्रपतीय प्रणालीतर्फ मुलुकलाई लैजान आवश्यक रहेको बताए। त्यसका लागि ढिलो गर्न नहुनेमा यादवले जोड दिए।
मधेशी स्वास्थ्यकर्मी फोरम नेपालले शनिबार वीरगञ्जमा आयोजना गरेको एकदिने राष्ट्रिय प्रशिक्षण कार्यक्रममा समाजवादी पार्टीका केन्द्रीय अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री यादवले शक्ति पृथकीकरणको सिद्धान्तविपरीत वर्तमान शासनसत्ता सञ्चालित रहेकाले यसको परिवर्तन आवश्यक रहेको बताए। उनले कम लेखपढ गरेका र सम्बन्धित मन्त्रालयको ज्ञान नै नभएका व्यक्ति मन्त्री हुने संसदीय व्यवस्थाले समृद्धि हासिल हुन नसक्ने ठोकुवा गरे।
संविधानले सुनिश्चित गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षताको रक्षा गर्नु आवश्यक रहेको उनको धारणा थियो। संविधानले प्रदान गरेका अधिकारलाई केन्द्रिकृत गरी राख्नुभन्दा प्रदेशलाई अधिकार सम्पन्न बनाए मुलुकले चाँडै गति लिने उपप्रधानमन्त्री यादवले विश्वास व्यक्त गरे।
स्वास्थ्यकर्मी फोरम नेपालका केन्द्रीय अध्यक्ष बालेश्वर यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका उपाध्यक्ष एवं प्रदेश नं.–२ का मुख्यमन्त्री लालबाबु राउत गद्दी, पार्टीका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठलगायतले अधिकारको विकेन्द्रीकरण नभएसम्म मुलुकमा सङ्घर्ष चलिरहने बताए।



लाेकपाटी न्यूज

