वर्षामा बाहिर हिँड्दा के–के गर्ने ?, मौसमको पूर्वसूचनाले पनि घटाउन सक्छ जोखिम

pre -mansun
लाेकपाटी न्यूज

काठमाडौं, २२ असार । वर्षाका बेला कतै हिँडडुल गर्नु छ भने ११५५ टोल फ्री नम्बरमा सम्पर्क गर्नुहोस्। जहाँबाट वर्षा बढी हुने स्थान, बाढी, पहिरो र डुबान जोखिम क्षेत्रको जानकारी सहजै दिइन्छ।

त्यस्तै ‘नेपाल फ्लड अलर्ट’ नामको फेसबुक पेज र ट्विटर पेजमा पुगेर पनि वर्षा र यसले निम्त्याउने जोखिमको अवस्था थाहा पाउन सकिने बाढी पूर्वानुमान महाशाखाका कर्मचारी सुनिल पोखरेलले बताए। उनले भनेझैँ त्यस पेजमा शनिबार बिहानै तीन दिनको बाढी पूर्वानुमानको सूचना प्रकाशित भयो।

जानकारीसँगै नदीको नक्सामा बाढीले देखिएको उतारचढाव सहितको जानकारी पनि उपलब्ध छ। बाढी पूर्वानुमान बुलेटिनमा राखिएको सूचनाअनुसार विगत २४ घन्टामा सबैभन्दा बढी वर्षा लमजुङको बेँसी सहरमा भएको छ। यस अवधिमा करिब १०० मिलिमिटरवर्षा भएको थियो।

सोही बुलेटिनमा नेपालका ठूला तथा मझौला नदीहरू कन्काई, कोसी, कमला, बाग्मती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीमा आइतबाररातिसम्म हुने वर्षाले बहाव बढ्ने तर सतर्कता तहभन्दा तल नै बहावको अवस्था स्थिररहने उल्लेख छ।

बुलेटिनमा उल्लेख भएअनुसार सुदूरपश्चिम, मध्यपश्चिम र पश्चिम क्षेत्रका स्थानीय नदीमा भने बहाव उच्च रहँदा आकस्मिक बाढी आउने सम्भावना छ। सुदूरपश्चिम प्रदेशको डडेल्धुरा, डोटी, कैलाली, कञ्चनपुरको चुरे पहाडबाट बग्ने नदी तथा पाँच नम्बर प्रदेशको बर्दिया, बाँके, दाङ, कर्णालीका केही र प्रदेश ३ का पहाडी जिल्लामा बग्ने नदीमा बाढी आउने भएकाले सतर्क रहन भनिएको छ। यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्