काठमाडौं, २० असार । त्रिभुवन विश्वविद्यालय माइक्रोबायोलोजी विषय समितिका अध्यक्ष सह-प्रा.डा. मेघराज बन्जाराले त्रिभुवन विश्वविद्यालयमा माइक्रोबायोलोजी अध्ययन गरेको जनशक्तिलाई दरवन्दी सृजना गर्न पहल गर्ने अभियान सुरुवात गरेका छन्। आज शुक्रबार माइक्रोबायोलोजी विषय अध्यापन हुने सम्पूर्ण क्याम्पसका क्याम्पस प्रमूख तथा विभागका विभागीय प्रमूखहरुलाई चिट्ठी पठाएर यो अभियानको सुरुवात गरेका हुन्।
त्रिभुवन विश्वविद्यालयबाट सन् १९७८ देखि त्रिचन्द्र क्याम्पसबाट स्नातक तह र सन् १९९० देखि माइक्रोबायोलोजी केन्द्रीय विभागबाट स्नातकोत्तर तहमा माइक्रोबायोलोजी विषय अध्यापन भई हाल देशका विभिन्न क्याम्पसबाट स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण जनशक्ति उत्पादन भईरहेको छ। समाजका विभिन्न क्षेत्र जस्तै वातावरण प्रदुषणको अनुगमन, रोग गराउने सुक्ष्म जीवहरुको निदान तथा अनुसन्धान, खाद्य पदार्थ तथा पानीको शुद्धता, कृषि क्षेत्रमा उत्पादन वृद्धिका लागि सुक्ष्म जीवहरुको प्रयोग आदि माइक्रोबायोलोजी विषयका क्षेत्रहरु हुन्।
उनले भने, माइक्रोबायोलोजी विषयमा हालसम्म बीस हजारभन्दा बढी स्नातक र तीन हजारभन्दा वढी स्नातकोत्तर डिग्री उत्तीर्ण दक्ष जनशक्तिहरु उत्पादन भइसकेको अवस्थामा उत्पादित जनशक्तिहरुले विषय अनुसारको रोजगार पाउन नसकेको अवस्थामा यस विषयसँग सम्बन्धित सबै सरोकारवालाहरुको ध्यान यस विषयको प्रवद्र्धन गर्ने तथा उत्पादित जनशक्तिलाई रोजगार दिलाउने तर्फ केन्द्रीत हुनुपर्ने देखिन्छ।
माइक्रोबायोलोजी विषयसँग सम्बन्धित मन्त्रालय, विभाग तथा अन्य सरोकारवाला निकायहरुमा गएर छलफल चलाउने र भविष्यमा उक्त निकायहरुमा माइक्रोबायोलोजी अध्ययन गरेको जनशक्तिलाई दरवन्दी सृजना गर्ने कार्यमा सहयोग गर्न सम्बन्धित सबैलाई आ(आफनो क्षेत्रबाट योगदान गर्न आह्वान गरे।
यस कार्यमा सबै पक्षबाट सकारात्मक पहल भएमा दक्ष्य जनशाक्तिले आफ्नै देशमा आफ्नो योग्यता अनुसारको रोजगारी गर्दै देश विकासमा योगदन गर्न सक्ने तथ्यलाई नकार्न सकिँदैन।



लाेकपाटी न्यूज

