काठमाडौं, २० असार । खानेपानीमन्त्री बिना मगरले तराई–मधेशका जिल्लाका खानेपानीलाई आर्सेनिकमुक्त बनाउने मन्त्रालयको पहिलो प्राथमिकतामा रहेको बताएकी छिन्।
राष्ट्रियसभाको शुक्रबारको बैठकमा विनियोजन विधेयक अन्तर्गत खानेपानी मन्त्रालयको विभिन्न शीर्षकमा सांसदले उठाएका प्रश्नको जवाफमा मन्त्री मगरले यसका कार्यका लागि २१ तराईका जिल्लामा कार्यक्रम जारी रहेको जानकारी दिइन्।
उनले पहिलो चरणको मेलम्ची खानेपानी आयोजनाको बाँकी रहेको काम सम्पन्न गर्न ठेक्का भई काम दु्रत रुपमा अगाडि बढेको बताउँदै भनिन्, ‘दोस्रो चरणको मेलम्ची खानेपानी आयोजनाको काम पनि जारी नै रहेको छ, ढुक्क हुनुहोस् अब मेलम्चीको पानी उपत्यका आउँछ।’ पहिलो चरणको मेलम्ची खानेपानी आयोजनाका बाँकी काम निर्धारित समयमै सम्पन्न हुनेमा मन्त्रालय आशावादी रहेको उनले जानकारी दिइन्।
मन्त्री मगरले संविधान प्रदत्त मौलिक अधिकार कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेकाले यसै अनुरुप सबै जनतालाई खानेपानी र सरसफाइको पहुँच पुर्याउन आफ्ना नीति र कार्यक्रम केन्द्रीत गरेको उल्लेख गरिन्। सन् २०३० सम्म खानेपानी र सरसफाइसम्बन्धी दिगो विकास लक्ष्य हासिल गर्न मन्त्रालय प्रतिबद्ध रहेको उनले बताइन्। उनले भनिन्, ‘आधारभूत खानेपानीको पहुँच ८८ प्रतिशत र सरसफाइको पहुँच ९९ जनसंख्यामा पुगेको छ।
अबको कार्य पुगेको सेवालाई गुणस्तरीय र भरपर्दो बनाउनु हो।’ उनले भूकम्पले क्षति पुर्याएका खानेपानी र सरसफाइ योजना अगामी वर्षभित्र सम्पन्न हुने, विश्व बैंकको आर्थिक एवं प्राविधिक सहयोगमा ग्रामीण खानेपानी र सरसफाइ योजना लागू हुने, पोखरा, भरतपुर जस्ता ठूला शहरमा ठूला शहरी खानेपानी आयोजना कार्यान्वयनमा आएको बताइन्।
उनले भनिन्, ‘गोरखा, पाल्पा र रामेछापका सुख्खा ग्रामीण क्षेत्रमा लिफ्ट प्रविधिबाट खानेपानी पुर्याइएको छ।खानेपानी र सरसफाइका संरचनालाई कम विपद् जोखिम बनाइँदैछ।’ मन्त्री मगरले एक घर एक धारा र शौचालय बनाउने कार्यक्रम सरकारको रहेको जानकारी दिँदै आगामी वर्ष सबै जिल्ला खुला दिसामुक्त क्षेत्र घोषणा हुने जानकारी दिइन्।



लाेकपाटी न्यूज

