नेकपा विशाल नदी हाे, छुट्टिएका भङ्गलाहरु मिसिन आउँछन् : प्रधानमन्त्री

KP Sharma Oli-1
लाेकपाटी न्यूज

काठमाडौं, २० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विशाल नदी भएकोले यसबाट केही भंगालाहरु छुट्टिए पनि पुन नदीमै आएर मिसिने बताएका छन्।

विभिन्न पार्टी परित्याग गरी नेकपा प्रवेश गरेकाहरुलाई शसक्रबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा स्वागत गर्दै प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीले नदी बग्दा केही भंगालाहरु बाटो भूलेर दायाँबायाँ लागे पनि अलि पर पुगेर सबै भंगाला मुल बहाबमा नै मिसिने बताएका हुन्।

“कहिले ढिस्काले बाटो छेकेर भंगालाहरु यताउति लाग्छन्,कहिले बाटो भूलेर” प्रधानमन्त्री ओलीले भने“ पुल मुनी भंगालै भंगालामा छरिएको नारायणी नदी अलि तल पुगेपछि मुल बहावमै मिसिन्छन्। त्यस्तै कम्युनिष्ट पार्टीबाट बेला बेलामा छुटिएर गएका साथीहरु फेरी अहिले मुलधारमै आउनु भएको छ। वहाँहरुलाई स्वागत छ।”

प्रधानमन्त्री ओलीले दुई तिहाइ अटेको कम्युनिष्ट पार्टीमा बाबुराम भट्टराई मात्र हैन सिंगै समाजवादी पार्टी पनि अट्न सक्ने बताएका छन्। “देश बनाउने बेलामा डिलमा बसेर मतभेद गर्ने होइन। आउनुहोस् सबै मिलौं देश बनाउँ ” प्रधानमन्त्री ओलीले भने। नेपालमा पहिले राजनीतिका मात्र कुरा हुने गरेकोमा अहिले विकासका कुराले प्राथमकिता पाउन थालेको प्रधानमन्त्री ओलीको भनाइ छ। “जनताका समस्या भन्दा सरकार टाढा छैन।

जनताका आवश्यकतालाई मनन गरेर हामी काम गर्छौं ” प्रधानमन्त्री ओलीले भने “हामीमा कुनै मतभेद छैन। क्तिगत स्वार्थलाई गौंण र राष्ट्रिय स्वार्थलाई प्राथमिकतामा राखेर विकसित देश बनाउन हामी लागि परेका छौं।”प्रधानमन्त्री ओलीले केही केहीले परपरैबाट पार्टी र सरकारको आलोचना गर्ने गरेको बताएका थिए।

“बहुदलमा आलोचना गर्न पाइन्छ। चुनाव पनि हार्नु आलोचना पनि गर्न नपाउनु त भएन नि ” प्रधानमन्त्री ओलीलेभने “ जति आलोचना गरे पनि सरकार देशमा सुशासन कायम गर्ने अभियानमा दृढ संकल्पित छ। ”