काठमाडौं, २० असार । समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई बिहीबार साँझ नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) भेट्न खुमलटार पुगेका छन्।
साँझ ६ बजे खुमलटार छिरेका भट्टराईले झण्डै ढेड घण्टा प्रचण्डसँग भलाकुसरी गरे र साँढे ७ बजेमात्र खुमलटारबाट बाहिरिए। भट्टराई पक्षले गोप्य राख्न चाहेको यो भेटघाट उनका सहयोगीहरु कल्पना धमला, देबेन्द्र पराजुली, मनु हुँमागाईलगायत नेताहरु नेकपा प्रवेशको पूर्वसन्ध्यामा भएको थियो। धमला, पराजुली र हुँमागाई लगायतका भट्टराईको हितैषी मित्रहरु आज शुक्रबार नेकपा प्रवेश गदैछन्।
बिहान ११ बजे नेकपाले उनीहरुलाई पार्टी प्रवेशका लागि केन्द्रीय कार्यालय धुम्बराहीमा विशेष कार्यक्रमको आयोजना गरेको छ। अध्यक्षद्धय केपी ओली र प्रचण्ड दुबैले उनीहरुलाई पार्टीमा स्वागत गर्न लागेका छन्। यही पूर्वसन्ध्यामा भट्टराई प्रचण्ड भेट्न खुमलटार पुगेका हुन्।
नयाँ शक्ति पार्टीलाई संघीय समाजवादी फोरमसँग एकता गराए यता प्रचण्ड र भट्टराईबिच भेटवार्ता भएको थिएन। गत वैशाख २३ मा फोरम र नयाँ शक्ति पार्टी एकतापछि अहिले समाजवादी पार्टी नेपाल बनको छ। त्यसैको सेरोमोनिलय पद संघीय परिषद् अध्यक्षको जिम्मेवारीमा भट्टराई छन्। यता प्रचण्ड पनि एमालेसँगको पार्टी एकतापछि एक्लै पार्टीमा कुनै निर्णय गर्न सक्ने अवस्थामा छैनन्।
२०४८ साल यता २०७२ सालसम्म एकै पार्टीमा विभिन्न आरोह–अवरोहमा एक अर्काका सहयोगी र परिपूरकका रुपमा रहँदै आएका प्रचण्ड-भट्टराई त्यसपछि भने अलग भएका थिए। दुई नेताबीचको भेटमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा गम्भिर छलफल भएको स्रोतले बताएको छ। पछिल्लो चरण सत्तारुढ दलको झण्डै दुई तिहाई उपस्थिती संसदमा हुँदा पनि विदेशी चलखेल बढेको, शान्ति प्रक्रियाका बाँकी काम टुङग्याउन भईरहेको ढिलाई र गणतन्त्र, संघीयता, धर्म्निरेपक्षता, समावेशी समानुपातिकका प्राप्त उपलब्धीका विरुद्धमा हुन थालेका षड्यन्त्रमा केन्द्रीत रहेर छलफल भएको स्रोतले बताएको छ।
भेटमा दुबै नेताले माओवादी आन्दोलनले प्राप्त गरेको उचाई एकतावद्ध माओवादीबाट सम्भव भएको र पार्टी विभाजनपछि अन्य शक्तिले चलखेल गदै लगेर एकतावद्ध नेताहरुलाई एक पछि अर्काे रुपमा कमजोर बनाई उपलब्धी खोस्ने प्रपन्च गरिन थालिएकोमा पनि दुई नेताले भेटमा समिक्षा गरेको स्रोत बताउँछ।
‘उहाँहरुले अहिले दुबैले आ–आफुले नेतृत्व गरेको पार्टी अर्काे अलग अलग पार्टीसँग एकता गराउनुभएको छ, एकतापछिका दुबैका पार्टीको लक्ष्य, अवस्था र आफ्नो भूमिकाका विषयमा समेत केन्द्रीत रहेर छलफल गर्नुभयो,’ भट्टराई निकट स्रोतले बतायो ।
ढेड घण्टा लामो छलफल कसको चाहनामा भएको थियो ? यसमा भने दुबै पक्षका आ–आफ्ना तर्क छन्। प्रचण्ड निकट स्रोत भन्छ,–‘भट्टराईजी भेट गर्न आउनुभयो, अनि दुई नेताका बीचमा भेट भएर समसामायिक राजनीति खासगरी संक्रमणकालिन न्यायका विषयमा केन्द्रीत छलफल भयो।’ भट्टराई निकट स्रोतले भने दाहालले भेटन बोलाएकोले मात्र भट्टराई खुमलटार पुगेको बताएको छ।



लाेकपाटी न्यूज

