पोखरा, १९ असार। गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) नेकपा प्रवेश गरेका छन्। पोखरामा आज बिहान आयोजित एक कार्यक्रमका बीच गण्डकी प्रदेशका मुख्यमन्त्री एंव नेकपाका नेता पृथ्वीसुब्बा गुरुङले उनलाई पार्टी प्रवेश गराएका हुन्।
तर, कार्यक्रममा पूर्वमाओवादी पृष्ठभूमिका नेकपाको कुनै पनि नेता उपस्थित भएनन्। मनाङ्गेलाई पार्टी प्रवेश गराउनु गल्ती हुने भन्दै उनीहरु कार्यक्रममा अनुपस्थित रहेका हुन्। यद्यपि, स्वतन्त्र उम्मेदवार रहेका मनाङ्गे पूर्वएमाले र पूर्वमाओवादीकै मतका कारण प्रदेश सांसदमा निर्वाचित भएका थिए।
गुरुङसँगै नेत्रविक्रम चन्द विप्लव समूहका कास्की संयोजक पुष्प कार्की पनि नेकपा प्रवेश गरेका छन्। टीका लगाइदिएर उनीहरुलाई पार्टीमा स्वागत गर्दै मुख्यमन्त्री गुरूङले मनाङ्गेलाई नेकपाको विधान पनि हस्तान्तरण गरेका थिए।
मनाङेले मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका थिए। तर, फौजदारी मुद्दामा उच्च अदालत पाटनबाट दोषी ठहर भएपछि उनले सपथ लिन पाएका थिएनन्। उक्त मुद्दामा सर्वोच्चमा पुनरावेदन गरेका उनलाई सर्वोच्च अदालतले थुनामा नबसी मुद्दा लड्न सक्ने गरी बाटो खोेलिदिएको थियो। त्यसपछि मनाङेले प्रदेश सांसदको रुपमा सपथ लिएका थिए।



लाेकपाटी न्यूज

