पोखरा। नेपाल सरकारका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पहिलो कार्यकालको पदभार ग्रहणमै निर्णय गराएका थिए, १ वर्षभित्र देशभरिका तुइन बिस्थापित गरिनेछ।
तर, प्रधानमन्त्रीले घोषणा गरेको ५ वर्ष बितिसक्दा पनि तुइन बिस्थापन हुन सकेको छैन। पोखरा महानगरपालिकाभित्र विद्यार्थीहरु तुइन चढेर स्कूल जान्छन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ। तर, पोखरा २१ निर्मलपोखरीका विद्यार्थीहरु तुइन चढेर स्कूल पुग्ने र फर्कने गरेका छन्। प्रधानमन्त्रीको घोषणाको मर्मअनुसार स्थानीय तहले नीति, कार्यक्रम र बजेटको व्यवस्था नगर्दा समस्या ज्यूँका त्यू’ छ।
पोखरा महानगरपालिका वडा नं.–१७ र २१ को सिमानास्थित फुस्रेखोलामाथि जोखिमपूर्ण तुइनबाट तर्दै स्कूले बालबालिका पढ्न जान्छन्। तुइन बिस्थापन गरेर पक्की पुल बनाउन स्थानीयले निरन्तर माग गर्दै आए पनि सरकारले आवश्यक महत्व नदिँदा पुल बन्न नसकेको हो।
वि.सं. २०६९ सालमा उक्त स्थानमा सस्पेन्सन ब्रिज डिभिजन पुलको सर्भे भएको थियो। तर, सर्भेको फाइल ट्रायल ब्रिज सपोर्ट युनिट (टिबिएसयु) को अफिसमा अड्किएपछि पुल निर्माणको प्रक्रिया सुरु हुन नसकेको हो। पुल नबन्दा स्थानीय बासिन्दा र विद्यार्थीहरु तुइनबाटै निर्मलपोखरी–छोरेपाटन आवातजावत गर्ने गरेका छन्।
उक्त तुइनबाट दैनिक ५० जना स्कूले बालबालिका आवातजावत गर्ने गरेको स्थानीय लिला भण्डारीले बताए। भण्डारीका अनुसार विद्यार्थीका साथै दैनिक दर्जनौं स्थानीय उक्त तुइनबाट आवातजावत गर्दछन्। जीर्ण अवस्थाको तुइनबाट तर्नुपर्दा विद्यार्थीहरुको सुरक्षा जोखिमसमेत बढ्दै गएको छ।
स्थानीयले पोखरा महानगरपालिकाको कार्यालयमा तुइन बिस्थापित गरी पक्की पुल बनाइदिन पटकपटक आग्रह गरे पनि स्थानीय जनप्रतिनिधिले खासै चासो दिएका छैनन्। महानगरले तुइन व्यक्तिगत भएकाले बिस्थापन गर्नु हाम्रो दायित्व होइन भन्ने जवाफ दिने गरेको स्थानीय गणेश पौडेलले गुनासो गरे। उनले भने, ‘प्रत्येक नागरिकको जीउधनको सुरक्षा गर्नु राज्यको कर्तव्य हो, कुनै पनि सार्वजनिक जिम्मेवारीबाट राज्य भाग्न मिल्दैन।’
प्रधानमन्त्रीको तुइनमुक्त नेपाल बनाउने सपनामा स्थानीय जनप्रतिनिधि र कर्मचारीतन्त्र जिम्मेवार नहुँदा स्थानीयले सास्ती भोग्दै आएका छन्। स्थानीय ऋषि सुवेदी भन्छन्, ‘प्रधानमन्त्रीज्यूले गरेको घोषणामा स्थानीय जनप्रतिनिधि नै जिम्मेवार भएर लाग्नुपर्छ। महानगरभित्रै विद्यार्थीहरु तुइनबाट तर्छन् भन्दा हामीलाई पनि ग्लानी महशुस हुन्छ।’



लाेकपाटी न्यूज

