भोजपुर सदरमुकाम नजिकै शंकास्पद वस्तु फेला, वडा कार्यालयमा आगजनी

लाेकपाटी न्यूज

भोजपुर, १८ असार । भोजपुर सदरमुकाम नजिकै देउराली सौदाचोकमा शंकास्पद वस्तु फेला परेको छ । सौदाचोकदेखि बोखिम जाने बाटोको सिँढीमा रातो झोलामा राखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेकाे जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

उक्त शंकास्पद वस्तु बम हुन सक्ने आशंकामा नेपाली सेनाले डिस्पोजको तयारी गरिरहेको छ । शंकास्पद वस्तु राखिएको वरपरका स्थानीयवासी त्रसित भएका थिए । बुधबार विहान ११ बजेतिर सो बाटो भएर हिँड्ने बटुवाहरुले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

यसैबीच भोजपुर जिल्लाको पश्चिमी टेम्केमैयुङ गाउँपालिका–१, तिम्मास्थित वडा कार्यालयमा मंगलबार राति अज्ञात समूहले तोडफोड तथा आगजनी गरेको छ ।

वडा कार्यालयको ताल्चा फुटाएर सो समूहले कार्यालयमा रहेको महत्वपूर्ण कागजात लगायत कार्यालयका सामानहरुमा तोडफोड र आगजनी गरेको हो ।

अज्ञात समूहले वडाध्यक्ष र वडा सचिवको कार्यकक्षको ताल्चा फोरेर सामानहरु तोडफोड गर्नुका साथै कम्प्यूटर, टेबुल, कुर्सी, प्रिन्टर, ईन्टरनेटका सामाग्री, महत्वपूर्ण कागजातहरु जलाएको प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताए ।

सोही वडाको परिसरभित्रै बम जस्तो देखिने शंकास्पद बस्तु भने निष्क्रिय गरिएको प्रहरीले जनाएको छ । अज्ञात समूहले कार्यालयमा रहेको १ थान ल्यापटप पनि साथमा लिएर गएको बताइएको छ ।

घटनापछि उक्त स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको प्रमूख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए । घटनास्थलमा बुधबार विहानबाटै नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीलाई परिचालन गरिएको जनाइएकाे छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्