काठमाडौं, १८ असार । काभ्रेका एक युवक मृत भेटिएका छन्। प्रेमिकासँगै नयाँ बसपार्कस्थित एक होटलमा बास बसेका काभ्रेका युवक मृत भेटिएका हुन्।
असार ११ गते युएईको दुबईबाट नेपाल फर्किएका २६ वर्षीय प्रमोद गुरुङ शुभकलश गेस्ट हाउसमा बुधबार बिहान मृत फेला परेका हुन्। विदेशबाट आएको दिनदेखि नै म्याग्दी घर भएकी प्रेमिकासँग उक्त होटलमा बस्दै आएका गुरुङ बुधबार विहान मृत फेला परेका महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए।
बुधबार बिहान गुरुङकी प्रेमिकाले होटलको रिसेप्सनमा आई उनको मृत्यु भएको जानकारी गराएको प्रहरीले बताएको छ। उनीहरुको कोठामा २ वटा वियर, गाजा र यौनबद्र्धक औषधिसमेत फेला परेको प्रवक्ता बोगटीले जानकारी दिए।
युवकको शव त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विज्ञ चिकित्सकले होटलमै आई जाँच गरिरहेको छ। जाँचपछि मृत्युको कारण खुल्ने प्रहरीको भनाइ छ।
मृतक गुरुङ र युवती दुबै जना अविवाहित हुन्। उनीहरु ११ गतेदेखि १४ गतेसम्म सोही होटलमा बसेका थिए। त्यसपछि नगरकोट घुम्न गएर मंगलबार साँझ पुनः होटलमा आएर बसेका थिए।



लाेकपाटी न्यूज

