रामग्रामको विकासमा सहयोग गर्छु : मन्त्री अर्याल

Padma Aryal (12)
लाेकपाटी न्यूज

भूमि व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले सरकारले रामग्राम स्तुपको विकास गर्ने बताएकी छिन्। मन्त्री अर्यालले रामग्रामको विकासका लागि आफू अग्रसर रहनेसमेत बताइन्।

मङ्गलबार पश्चिम नवलपरासी आउनुभएकी मन्त्री अर्यालले भगवान् गौतमबुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तुपको अवलोकन गर्दै लुम्बिनीसँग जोडेर रामग्रामको विकास गरिने बताएकी हुन्। उनले भनिन्, “सरकार अहिले विकास र समृद्धिकै दिशामा अघि बढेको छ, लुम्बिनीसहित रामग्रामको विकास सरकारले गर्छ, तपाईंहरु विश्वस्त हुनुुस्।”

मन्त्री अर्याल स्तुपमा पुग्दा स्थानीयवासीले यसको विकासमा सरकारको ध्यान नगएको भन्दै ध्यानाकर्षण गराएका थिए। रामग्राम–७ का वडाध्यक्ष शिवशङ्कर हरिजनले स्वदेशी तथा विदेशी गरी वार्षिक ३० हजारभन्दा बढी पर्यटक आउने यो स्थल उचित विकास र पूर्वाधारको कमीले पछि परेकाले सरकारले चासो दिएर विकास गर्नुपर्ने बताइन्। रामग्राममा पर्यटकका लागि आवश्यक विश्रामगृह, शौचालय, सुविधासम्पन्न होटलजस्ता पूर्वाधारको अभाव छ।

मन्त्री अर्यालले पाल्हीनन्दन–४ स्थित ऐतिहासिक पाल्ही भगवती मन्दिरको पनि दर्शन गर्दै मन्दिरको बारेमा जानकारी लिइन्। मन्त्री अर्याललाई उक्त मन्दिरको मुख्य पुजारी एवं सङ्घीय सांसद देवेन्द्रराज कँडेलले मन्दिरको महत्व र भोग्नुपरेका समस्याबारे जानकारी गराएका थिए।

पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुअघि पाल्पाका सेनवंशी राजाहरुको अधिनमा रहेको यो मन्दिरमा सेनवंशी राजपरम्पराकी कुलदेवी पाल्ही भगवतीको स्थापना भएको हो। सेनवंशी राजाको पाल्हीमा दरबार रहेको र दरबारभित्र पुजिने इष्टदेवीका रुपमा पाल्ही भगवती रहेकी थिइन्। सेनवंशी शासनकालमा रतन सेनले आफ्नो दरबारमा पाल्ही भगवतीको पूजा गर्दै आएको पाइन्छ।

यसैगरी सुनवल–५ वनकट्टीमा रहेको शहीद विष्णु पाण्डे उद्यानको पनि अवलोकन गर्दै मन्त्री अर्यालले त्यहाँको विकास योजनाबारे जानकारी लिइन्। उक्त स्थललाई नेपालकै नमूना पर्यटकीयस्थल बनाउने गरी योजना अघि बढाइएको र त्यसका लागि सङ्घीय सरकारबाट आवश्यक बजेट विनियोजनका लागि ध्यानाकर्षण गराइएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नवलपरासीकी नेतृ विमला अर्यालले जानकारी दिइन्।

मन्त्री अर्यालले परासीमा निर्माणाधीन मालपोत कार्यालयको निरीक्षण गर्दै छिटो काम सम्पन्न गर्न निर्देशन पनि दिइन्। सो अवसरमा अर्यालले जनताका काममा ढिलासुस्ती नगर्न र परिवर्तनको अनुभूति हुने गरी सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्