समयअघि नै सकियो पेट्रोलियम पाइपलाइनको काम

petrolium-pipeline
लाेकपाटी न्यूज

काठमाडौं। पेट्रोलियम पाइप लाइनको पहिलो चरणको परीक्षण सकिएको छ। भारतको मोतीहारीदेखि बाराको अमलेखगञ्जसम्म पाइप लाइन बिछ्याइपछि पहिलो चरणको परीक्षण गरिएको हो।

परियोजनाका इन्जिनियर शरदप्रसाद पौड्यालका अनुसार पहिलोपटक गरिएको परीक्षणको नतिजा सकारात्मक आएकाले त्यसपछिका प्राविधिक काम धमाधम भइरहेका छन्। ‘हाल अन्य युनिटहरूको परीक्षणको काम भइरहेको छ, ज्वाइन्टहरू जोडिरहेका छौं,’ पौड्यालले भने, विभिन्न युनिटका तारहरू जोड्ने काम पनि सँगसँगै भइरहेको छ।’

यो काममा थप ८ देखि १० दिन लाग्ने उनको अनुमान छ। पाइप लाइनअन्तर्गत सिमरादेखि अमलेखगन्जसम्म पर्सा राष्ट्रिय निकुञ्जको वन क्षेत्रमा पाइप बिछ्याउने काम सम्पन्न भएपछि परियोजनाको कामले गति लिएको हो। निकुञ्ज क्षेत्रमा पाइप लाइनको बाटोमा परेका रुख मन्त्रिपरिषदको निर्णयपछि टिम्बर कर्पोरेसन अफ नेपालले काटेको थियो। परियोजनाको ९ किमि पाइप लाइन त्यस क्षेत्रमा पर्छ।

यो परियोजनाअन्तर्गत २०७४ फागुन २५ देखि पाइप लाइन बिछ्याउने काम सुरु गरिएको थियो। पाइप लाइनको अधिकांश भाग हाल निर्माणाधीन वीरगन्ज–पथलैया व्यापारिक मार्गमा परेको छ। हाल उक्त मार्ग ६ लेनमा विस्तार हुँदैछ। ६ लेन सडकमुनि परियोजनाको पाइप पुरिएको छ। पाइप जमिनमुनि अढाइ मिटरभित्र गाडिएको छ।

इण्डियन आयल कर्पोरेशनको लगानीमा सञ्चालित यो परियोजनाका लागि नेपालले पाइप लाइन बिछ्याउने स्थान र वीरगञ्जका केही स्थानमा नेपाल आयल निगमले मुआब्जा वितरणको कामबाहेक नेपाल सरकारको लगानी छैन। परियोजनाको लागत प्रतिकिमि भारु ४ देखि ५ करोड रुपैयाँ रहेकाले परियोजनाको कुल लागत झण्डै ३ अर्ब ५० करोड भारु रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्